एमाले हुम्लामा महाधिबेशन प्रतिनिधि अझै टुङ्गिएन

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले हुम्लामा एघारौ महाधिबेशन प्रतिनिधि छनौट कार्य टुङ्गिन सकेको छैन । अब चार जना मात्र प्रतिनिधि छनौट हुन बाँकी रहेको भएपनि आकांक्षी बढी देखिदा छनौट कार्य लम्बी रहेको हो ।

देशभर निर्वाचन र सर्वसम्मत रुपमा प्रतिनिधि छनौट कार्य भई रहेको भएपनि दुई दिन लगातार सहमति गरेर सर्वसम्मत प्रतिनिधि छनौट गर्ने कार्यले सार्थकता पाउन सकेको छैन । खुल्ला दुई जनामा छ जना आकांक्षी रहेका छन । जसमा जिल्ला अध्यक्ष ज्ञामी बुमी, बिनोद बोहरा, लोकबहादुर हमाल, उपाध्यक्ष प्रकाशबहादुर शाही, पुर्ण प्रसाद ढकाल र नवराज महतारा रहेका छन ।

उनीहरु मध्य जिल्ला अध्यक्ष बुमीलाई प्रतिनिधि छनौट गर्ने मौखिक सहमति भएपनि त्यसलाई औपचारिकता दिईएको छैन । त्यसैगरि अर्को खुल्ला प्रतिनिधि छनौटका लागि लोक बहादुर हमाललाई छान्ने कुरा आई रहेको बेला आकांक्षी बिनोद बोहराले नमानेको एमाले एक नेताले बताए ।

निर्वाचन गर्न नदिने र सहमति कै लागि आकांक्षीहरु बैठक बसी रहेका छन । यसअघि महाधिबेशन प्रतिनिधि चयन हुनेमा एमाले हुम्लाका सचिव तिर्थराज बोहरा चालीस वर्ष मुनिका युवाबाट र दलित कोटाबाट पर्वत सुनार निर्विरोध चयन भएका थिए । दुई जना महिला प्रतिनिधिका लागि पनि छ जनाको उम्मेदवारी परेको छ ।

जसमा प्रतिमा रावल, मन्जु रावल, बिमला शाही, रुपा शाही, याङ्जु रोकाया र सौमती ऐडी रहेकी छन । महिला प्रतिनिधिमा रुपा शाही र बिमला शाहीका लागि सहमति हुन सक्ने ती नेताले बताए ।

आकांक्षी महिला विच सहमति नभए जिल्ला कमिटीले प्रस्ताव गर्ने गरि तयारी समेत भई रहेको छ । आज बेलुकासम्म एमाले प्रतिनिधि छनौट कार्य सहमति मै टुङ्ग्याउने जनाएको छ । प्रतिनिधि छनौटका लागि दुई हजार १७१ मतदाता रहनु भएको छ ।