लिमीका मतदान केन्द्रमा मतदाता आउन नसक्ने भएपछि चिन्ता

फोटो क्याप्सन शुक्रबारको हिमपात पछि लिमीको हल्जी गाउँ । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन गई रहेको प्रतिनिधि सभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन वटै मतदान स्थलमा मतदाता आउन कठिन हुने चिन्ता ब्यक्त गरिएको छ । लिमी प्रवेश गर्ने दुई वटै नाका चार हजार ६७० मिटेर उचाईको नारा र पाँच हजार मिटर उचाईको न्याालु नाका कम हिमपातका बाबजुत आवतजावत बन्द भई सकेकोले र शुक्रबारको हिमपातले त फागुन २१ गतेको निर्वाचनमा अधिकाँस मतदाता आउन नसक्ने चिन्ता स्थानीयले गरेका हुन ।

लिमीको वडा अध्यक्ष पाल्जोर तामाङले आउदो प्रतिनिधि सभाको निर्वाचनका लगि मतदाता लिमी आई पुग्न कठिन हुने बताए । गत कातिक महिनाका छिटफुट हिमपातको कारण लिमी जाने दुई वटै नाकाको सडक बन्द भई सकेको र शुक्रबारको बाक्लो हिमपातल मतदानको अवधिमा मतदाता लिमी पुग्न कठिन हुने देखिएकोमा उनले चिन्ता ब्यक्त गरे ।

यसअघि मंङ्सीर वा बैशाख महिनामा निर्वाचन हुने भएको कारण धेरै मतदाता गाउँमै हुने भएको कारण सत्तरीदेखि नब्बे प्रतिशत मत खस्ने गरेको भएपनि यस पटक भने अहिल्यै कै अवस्था कायम भए थोरै मत खस्ने देखिएको छ । लिमीका तीन मध्य भृकुटी प्राावि मददात केन्द्रमा रहेको जाङ गाउँ मतदाता बिहीन रहेको छ ।

हिमशिखर प्रावि मतदान केन्द्र रहेको तील गाउँँमा केही र सुनखनी आवि मतदान केन्द्रमा भने केही बढी मतदाता रहेका छन । फागुन २१ गतेको निर्वाचनका लागि लिमी जाने दुई वटा मार्गमा जमेको हिउ पन्छाएर सडक सुचारु नगरे धेरै कम मतदाताहरुको मतदानमा सहभागिता रहने छन् । हाल काठमाडौं मै रहनु भएका वडा अध्यक्ष तामाङले सडक बन्द भएको कारण आफु पनि यस पटकको निर्वाचनमा भोट खसाल्ने संभावना नरहेको बताए ।

हाल लिमीका तीन मध्य दुई वटा गाउँँ तील र हल्जी मतदान केन्द्रमा २०३ मतदाताहरु मात्र रहेका छन । लिमीका तीन मतदान केन्द्रमा कुल ६७२ मतदाताहरु रहेका छन । त्यसमा २९७ पुरुष र ३७५ महिला मतदाता रहनु भएको छ । ती मतदाता मध्य ४६९ लिमी बाहिर जाडो छल्न, ब्यापार ब्यवसाय र अध्ययनका लागि रहदै आउनु भएको छ । अर्का लिमीका स्थानीय कुन्जोक तामाङले यस पटक फागुनमा तोकिएको निर्वाचनका लागि लिमी बाहिर रहेका मतदाताहरुलाई गाउँ फर्कन समस्या हुने बताए हाल सत्तरी दशमलव दुई प्रतिशत मतादता लिमी बाहिर रहेको कारण ती मतदातालाई कसरी लिमी भित्र्याउने भन्ने चिन्ता भई रहेको बताए ।

तीन वटा मतदानस्थल र तीन वटै मतदान केन्द्र रहेको लिमीमा पहिलो पटक कम मतदाताको सहभागिता रहने संभावना रहेको उहाँले बताउनुभयो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुलाई हेलिकोप्टरको ब्यवस्था हुन सक्ने देखिएको भएपनि मतदाताका लागि यो संभव देखिदैन ।