योजनाको गुणस्तर कायम गर्न मुल्याङ्कनमा नयाँ प्रबिधिको प्रयोग

फोटो क्याप्सन : उत्तरी नाम्खा गाउँपालिका– ४ मा निर्माणधिन अस्पताल भवनको गुणस्तर चेक गर्दै प्राविधिक ।

सि.टा.समाचारदाता
सिमकोट ।        जिल्लाका बिकासे कार्यालयहरुले आफ्नो माताहतमा निर्माण गरिएका योजनाहरुको नयाँ प्रविधिको प्रयोग गरेर नाँपजाँच वा मुल्याङ्कन गर्ने कार्य सुरुवात गर्नु भएको छ ।

लागत ईष्टिमेट र डिजाईन अनुसार योजनाको निर्माण कार्य भए नभएको चेकजाँच गर्नका लागि जिल्लाका प्राविधिकहरुले नयाँ प्रविधिको प्रयोग गर्ने गरेका हुन ।

यसअघि फिताले मात्र योजनाहरुको नाँपजाँच गरेर मुल्याङ्कन गर्ने परिपाटीलाई कायम राख्दै त्यसमा थप नयाँ उपकरणहरुबाट मुल्याङ्कन र नाँपजाँच गर्ने कार्यको थालनी गरिएको नाम्खा गाउँपालिकाका सवईन्जिनीयर समिर लामाले बताए। यो कार्यले तर्जुमा भएका भौतिक पुर्वाधारतर्फका योजनाहरुको लागत ईष्टिमेट अनुसार काम भए नभएको मुल्याङ्न गर्न सहज भएको छ ।

निर्माण गरिएका योजनाहरुमा उपभोक्ता वा निर्माण कम्पनीहरुले गुणस्तरीय काम गरे नगरेको सहजै पत्ता लगाउन पनि यो प्रविधि उपयोगी भएको देखिएको छ । यसअघि खाली प्राविधिकहरु फिल्डमा गएर फिताले नाप्ने भन्दा अरु केही उपकरणले चेकजाँच नगर्ने परिपाटी नहुँदा निर्माण गरिएका योजनाहरुको गुणस्तर चेकजाँच नहुने गरेको थियो ।

प्राविधिकहरुलाई पनि यो प्रविधि भित्रिएपछि सहज भएको छ । आर्थिक वर्ष ०८२।०८३ मा नाम्खा गाउँपालिकाले चार दर्जन भौतिक पुर्वाधारका योजनाहरुको यी उपकरणको प्रयोग गरेर चेकजाँच गर्दै अन्तिम मुल्याङ्कन गर्ने कार्य गरेको हो ।

पुर्वाधार बिकासका लागि बिशेष गरि भर्नियर क्यालिपर, रिवाउण्ड ह्याम्मर टेष्ट र डिजिटल भर्नियर क्यालिपरको प्रयोग गरेर योजनाको गुणस्तर मापन गर्ने गरिएको उहाँको भनाई छ ।

यता सिमकोट गाउँपालिकाका सहायक सवईन्जिनीयर दालबहादुर रावलले नयाँ प्रविधिबाट चेकजाँच गर्ने कार्यले पुर्वाधार निर्माणका क्षेत्रमा उपलव्धि हाँसिल गर्न सहयोगी बनेको बताउनुभयो ।

यी उपकरणहरु सधै साथ मै लिएर प्राविधिक स्थालगम रुपमा मुल्याङ्कन गर्न जाने भएको कारण ठाउँका ठाउँ सुधार गर्न वा राम्रो भएको कामलाई निरन्तरता दिन पनि सहज भएको छ ।

यी उपकरणहरुबाट ग्याविकको प्वाल, सिमेन्टको ढलान, फिच, गारो, पिलर, जस्ताको गुणस्तर नाप्न समेत सहज भएको छ । पुर्वाधार क्षेत्रमा निर्माण गरिने संरचनाको मुल्याङ्नका लागि प्रयोगमा आएका यी नयाँ उपकरणले कामको गुणस्तर मात्र नभएर निर्माण कम्पनी, उपभोक्ता र फिल्डमा खटिने जनशक्तिलाई पनि सुरक्षित तुल्याएको भनाई प्राविधिकहरुको रहेको छ ।