हिमपातले किसानलाई राहत

फोटो क्याप्सन हिमपात पछि नर्सरीमा हुर्कदै गरेका स्याउका बिरुवा । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । हिउँदेबाली जौ, गहुँँ, उवा र फलफुल खेती गर्ने किसानलाई राहत भएको छ । लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको अवस्थामा हिमपात भएपछि उक्त बाली पलाउने भएपछि किसानलाई सहज भएको हो ।

अहिले वर्षासँगै हिउँ पर्न थालेपछि हिउँदे बालीमा राहत भएको सिमकोट गाउँपालिका–२ का किसान जानकी बोहराले बताए । लामो समयको खडेरीले हिउँदे बाली गहुँ, जौ, तरकारी र फलफुलका बोट सुक्न थालेपछि चिन्तित बन्दै गएका किसान यती बेला भने वर्षात सँगै परेको हिमपातमा निकै खुसी भएका छन् । कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म पनि उम्रिन सकेको थिएन ।

यहाँ सिचाई भएको र केही ओसिलो ठाउँमा उम्रेको जौ गुहुँ र उवा पनि सुक्खा खडेरीले सुक्न थालेको थियो । ढिलै भएपनि वर्षासँगै हिउँ पर्न थालेपछि हिउँदे बालीलाई केही राहत भएको छ । किसानका लागि यो हिमपात निक्कै महत्वपुर्ण भएको बताउदै नर्सरीमा सात सय बोट स्याउका बिरुवा हुर्काउदै अएका अगुवा किसान गगन रोकायाले यो वर्षा किसानका लागि सुन भन्दा महङ्गो सावित भएको बताए ।

उनले आफुले खडेरीको कारण नर्सरीमा हुर्कदै गरेका स्याउका बिरुवाको माया मार्नै लागेको समयमा परेको हिमपात ठुलो राहत पुगेको बताए । आगामी फागुन महिनामा नर्सरीमा हुर्केका स्याउका बिरुवा उनी बिक्री गर्न लागेका छन् ।

यसले जेठासी बाली र फलफुलका बिरुवालाई हर्कन सहज बनाएको छ । यसवर्ष जिल्लाभरका किसानहरुले जग्गामा लगाएको ६४२ हेक्टर जौं, एक हजार ४२ हेक्टर गहुँ र ७२६ हेक्टर उवा बालीलाई वर्षा र हिमपातले सहज बनाएको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताए । त्यस्तै पचास भन्दा बढी फलफुलका नर्सरीमा लगाएका बिरुवाहरु पनि सुक्नबाट बचेको उनको भनाई छ ।