सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ । २०८२ साल माघ २१ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले स्थानीयलाई निर्देशन दिएको हो ।
मङ्गलबार एक सूचना जारी गर्दै इजाजतप्राप्त वा इजाजत नलिई व्यक्तिगत रूपमा राखिएका भरुवा बन्दुक सहितका हातहतियार जिल्ला प्रहरी कार्यालय हुम्ला वा नजिकको प्रहरी चौकीमा बुझाउन सबैमा आग्रह गरेको जिल्ला प्रशासन कार्यालयले एक परिपत्र गरेर निर्देशन दिएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यो निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनले तोकिएको म्यादभित्र हातहतियार तथा खरखजाना नबुझाएमा र पत्ता लागेमा प्रचलित कानुन अनुसार कारबाही गरिने बताए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र निष्पक्ष भएरहित विश्वसनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले यस्तो सूचना जारी गरेको हो । बुझाईएकाा हतियार निर्वाचन पछि कानून बमोजिम फिर्ता गरिने पनि पत्रमा उल्लेख गरिएको छ । यो प्रशासनले निर्देशन दिएको दोस्रो पटक हो ।
























