नेपाली काँग्रेस हुम्लाद्धारा निर्वाचनको प्रचारप्रसार अभियान औपचारिक रुपमा सुरु

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन गई रहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि नेपाली काँग्रेस हुम्लाले चुनावी प्रचार प्रसार कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । यसअघि काँग्रेसका उम्मेदवारले आफ्नो जन्म थलो सिमकोट गाउँपालिका–५ र ६ मा अनौपचारिक रुपमा मतदाता र स्थानीयसंग भेटघाट कार्यक्रम राखेको भएपनि मंगलबार औपचारिक रुपमा सिमकोट गाउँपलिका कै वडा नम्बर ३ बाट प्रचार अभियानको औपचारिक रुपमा सुरुवात गरिएको हो ।

सदरुमकाम सिमकोटबाट काँग्रेसका प्रत्यक्ष उम्मेदवार जयपति रोकाया र समानुपातिक बन्द सुचिमा नाम समावेश भएका तारा वहादुर लामा सहितको टोली ब्यानर सहित सिमकोट गाउँपालिका–३ को हिल्दुम गाउँमा पुगेर मतदाता तथा काग्रेस कार्यकर्ताहरुसंग भटघाट सुरु गरिएको नेपाल महिला संघ ख नम्बर प्रदेशका अध्यक्ष् छपाल लामाले बताईन । दुवै उम्मेदवारलाई स्थानीय मतदाताले अविर र अक्षेता लगाएर स्वागत गरेका थिए ।

दुर्व जना उम्मेदवार टोली सो गाउँँको प्रत्येक घरघरमा पुगेको थियो । त्यसैगरि उक्त टोली सोही वडाको बुराउसे गाउँमा पनि पुगेको थियो । पहिलो दिनको घरदैलो कार्यक्रममा दुई जना उम्मेदवार, काँँग्रेस उपसभापतिद्धय कैलाश भण्डारी र बसन्त रोकाया, काँग्रेस जिल्ला कार्य समितिका सदस्य नरबहादुर रोकाया लगाएत काँग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । स्थानीय मतदाताले पनि टोलीलाई स्वागत गरेको थियो । टोली मंगलबार बेलुका सिमकोट फिर्ता भएको छ भने बुधबार वडा नम्बर ८ मा प्रचार प्रसारका लागि जाने कार्यक्रम तय भएको छ ।