सि.टा. समाचारदाता
सिमकोट । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले हिमाली जिल्ला हुम्ला लगाएत देशभरका जिल्लाको लागि निर्वाचन खर्च निर्धारण गरेको हो ।
एक निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लाका उम्मेदवारहरुले निर्वाचनका लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने निर्वाचन आयोगले निर्धारण गरेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । आयोगले तोकेको खर्चको सीमाभित्र रहेर निर्वाचनमा उम्मेदवारले खर्च गर्नुपर्ने हुन्छ । हुम्ला जिल्ला एक निर्वाचन क्षेत्र रहेको र सात जना उम्मेदवार निर्वाचनमा प्रतिश्प्रधी रहेका छन् ।
यसको परिधि भित्र रहेर खर्चको ब्यवस्था गर्नुपर्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हुम्ला जिल्लामा ३४ हजार ३७२ जना मतदाता रहेका छन् । यसमा १८ हजार २१ मतदाता पुरुष र १६ हजार ३५१ महिला मतदाता रहनु भएको छ । अघिल्लो निर्वाचन भन्दा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक हजार १९४ मतदाता संङ्ख्या बढेको छ ।
यता हुम्ला जिल्लामा साठी वटा मतदान स्थल र चौसट्टी वटा मतदान केन्द्र कायम भएका छन् । यसअघि २०७९ सालको निर्बाचनमा मतदाता संख्या ३३ हजार ३०८ रहेको छ । २०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदान स्थल र साठी वटा मतदान केन्द्र रहेका थिए ।
त्यस्तै गरि जिल्ला सुरक्षा समितिले सत्ताईस वटा मतदान स्थलहरुलाई यसअघि नै अति सम्वेदनशील ठहर गरि सकेको छ । समितिको निर्णय अनुसार २१ वटा सम्वेदनशील र दश वटा सामान्य मतदान स्थल रहेका छन ।
























