सि.टा. समाचारदाता
सिमकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू भएको निर्वाचन आचार संहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुई जना अनुगमन अधिकृत तोकेको छ ।
यसमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक अगंबहादुर काकीलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चन्दलाई आर्थिक विषय बाहेकका निर्वाचन आचारसंहिता सम्बन्धी गतिविधिको अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी दिइएको छ भने कोष नियन्त्रक कार्कीलाई राजनीतिक वित्त तथा निर्वाचन खर्चसँग सम्बन्धित विषयको अनुगमन गर्ने अधिकार प्रदान गरिएको मुख्य निर्वाचचन अधिकृत निलकण्ठ बरालले बताए ।
अनुगमन अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, कर्मचारी र सञ्चार माध्यमले निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा निगरानी गर्नेछन् । आचारसंहिता उल्लङ्घन भएको पाइएमा कारबाही गर्न सक्ने अधिकार समेत अनुगमन अधिकृतहरूमा रहेकोे छ ।
आचारसंहिता अनुसार जुलुस, आमसभा तथा प्रचारप्रसारमा सहभागी व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, स्टिकर वा लोगो प्रयोग गरे–नगरेको, पोस्टर, भित्तेलेखन, तुल तथा डिजिटल डिसप्ले प्रयोग भए–नभएको, सवारी साधनको दुरुपयोग भए–नभएको विषयमा समेत अनुगमन गर्नु पर्नेछ ।
त्यसैगरी घोषणापत्र सार्वजनिक गरिएको वा नगरेको, निर्वाचन प्रचारका लागि सरकारी, सार्वजनिक वा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग लिइएको वा नलिइएको, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेर खर्च व्यवस्थापन गरिएको वा नगरेको विषयमा समेत अनुगमन गरिने छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको हो । आचारसंहिता माघ ४ गतेदेखि लागू भईसकेको छ । आचार संहिता अनुगमनका जिम्मा पाएपछि आफुहरुले अनुमगन कार्य पनि सुरु गरेको सहायक प्रजिअ चन्दले बताए ।
हुम्ला जिल्ला प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र रहेको छ । जसमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया, नेकपा (एमाले) का उम्मेदवार दलबहादुर फडेरा, नेपाली कम्युनिस्ट पार्टीका डाक्टर दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी ल्हान्जोम राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा र नेकपा (माओवादी ) का उम्मेदवार कुम्भ बुढा र प्रगतिशिल लोकतान्त्रिक पाटीका जटिल कार्की उम्मेदवार रहेका छन ।
























