माधक प्रदार्थ सेवन गरि आफ्नै काकालाई कुटपिट गरेपछि उपचारकाे क्रममा मृत्यु

सि.टा समाचारदाता

सिमकाेट :  सर्केगाड गाउँपालिका–६ गिउसीमा मादक पदार्थ सेवनको नशाले निम्त्याएको अमानवीय घटनाले एक परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबाएको छ । आफ्नै काकामाथि कुटपिट गरी भिरबाट खसालेर मृत्यु गराएको आरोपमा मृतकका भतिज ३५ वर्षीय नन्दलाल लवाडलाई प्रहरीले माघ २४ गते पक्राउ गरेको छ ।

प्राप्त विवरणअनुसार माघ २१ गते सर्केगाड–६ स्थित स्यालतडी खोलामा ग्याविन जाली भर्ने क्रममा मादक पदार्थ सेवन गरेका नन्दलाल लवाडले आफ्नै काका २८ वर्षीय पुसे लवाडमाथि कुटपिट गर्दै उक्त जालीबाट धकेलेर भिरबाट खसाल्दा उनी गम्भीर घाइते भएका थिए । घटनापछि गम्भीर अवस्थामा रहेका लवाडलाई माघ २२ गते जिल्ला अस्पताल हुम्लामा पुर्‍याइएको भए पनि जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको थियो ।

नेपालगन्जस्थित सञ्जिबनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचाररत लवाडको माघ २३ गते उपचारकै क्रममा दुःखद निधन भएको हो । घटनापछि फरार रहेका अभियुक्त नन्दलाल लवाडलाई प्रहरीले सर्केगाड गाउँपालिका–६ गिउसीस्थित जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दा दायर गरी माघ २५ गते जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । यस हृदयविदारक घटनाले मादक पदार्थ दुरुपयोगले समाजमा निम्त्याउने भयावह परिणामप्रति गम्भीर प्रश्न खडा गरेको छ ।