सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक वडामा स्वयमसेवक खटाउने भएको छ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित आयोगले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयसेवक खटाउन लागेको हो।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन ‘मतदाता शिक्षा विशेष कार्यक्रम २०८२’ कार्यविधि पनि स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ आयोगले यो विशेष कार्यक्रम ल्याएको हो।
स्वयंसेवकहरू आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म १५ दिनका लागि फिल्डमा खटिने आयोगले जनाएको छ। स्वयमसेवकले आम मतदातालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्त्व र मतदान विधिबारे जानकारी दिनेछन्।























