निर्वाचनमा ५२५ कर्मचारी खटिदै

फोटो क्याप्सन मुख्य निर्वाचन अधिकृतको कार्यालय ।  तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाभरका मतदान केन्द्रहरुमा ५२५ जना कर्मचारी खटिने भएका छन् । निर्वाचनमा मतदान कार्य कुशलतापुर्वक सम्पन्न गर्न मतदाताको सङ्ख्याका आधारमा ती कर्मचारी खटाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।

जिल्लाभरका सवै मतदान स्थल तथा मतदान केन्द्रका लागि ५२५ जना कर्मचारी आवश्यक पर्ने र त्यसको रोष्टर तयार पार्ने कार्य पुरा भएका निर्वाचनका लागि कर्मचारी ब्यवस्थापन समितिका संयोकज प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताए । यसका लागि जिल्लामा कार्यरत सङ्घ, प्रदेश, स्थानीय तहका निजामित कर्मचारीहरु, संस्थान र शिक्षकहरुको जिल्लाभरको बिबरण तयार पार्ने कार्य पुरा भएको छ ।

जिल्लामा कुल ८५० जना कर्मचारी छन । अधिकृतस्तरका कर्मचारी मात्र १२० जना पुगेकोले पहिलो पटक फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा अधिकृतहरु मतदान अधिकृतका रुपमा खटिने छन् । यसअघि अधिकृत कर्मचारी कम हुदा नायव सुव्वास्तरका कर्मचारले मतदान अधिकृतको काम गर्नु परि रहेको थियो ।

एउटा मतदान केन्द्रमा एक जना निर्वाचन अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी खटिने छन् । आफ्नो समितिले निर्वाचनमा खटिने कर्मचारीको बिबरण तयार पारि सकेको र अब केही दिनमा मुख्य निर्वाचन अधिकृत समक्ष पेश गरिने छ । यता हुम्ला जिल्लामा साठी वटा मतदान स्थल र चौसट्टी वटा मतदान केन्द्र निर्वाचन आयोगले कायम गरेको छ ।

२०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदान स्थल र साठी वटा मतदान केन्द्र रहेका थिए । जिल्लाबाट ३४ हजार ३७२ मतदाताले मात्र मतदान गर्न पाउने गरि मतदाता संख्या कायम भएको छ । यसमा १८ हजार २१ मतदाता पुरुष र १६ हजार ३५१ महिला मतदाता रहनु भएको छ ।

यसअघि २०७९ सालको निर्बाचनमा मतदाता संख्या ३३ हजार ३०८ रहेको छ । उक्त निर्वाचन भन्दा यस पटकको प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि एक हजार १९४ मतदाता संङ्ख्या बढेको छ । त्यस्तै गरि जिल्ला सुरक्षा समितिले सत्ताईस वटा मतदान स्थलहरुलाई यसअघि नै अति सम्वेदनशील ठहर गरि सकेको छ । भने २१ वटा सम्वेदनशील र दश वटा सामान्य मतदान स्थल रहेका छन ।