कार्यसम्पादन मुल्याङ्कनमा खार्पुनाथ गाउँपालिका उत्कृष्ट

सि.टा. समाचारदाता
सिमकोट । कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाका सात स्थानीय तह मध्य खार्पुनाथ गाउँपालिका उत्कृष्ट अङ्क सहित प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कन कुल प्राप्त अङ्क मध्य ७१ दशमलव ६९ प्रतिशत उत्कृष्ट अङ्क ल्याउदै खार्पुनाथ गाउँपालिका प्रथम भएको हो । खार्पुनाथ गाउँपालिकाले गत वर्ष ७१ प्रतिशत अङ् ल्याएर द्धितीया स्थान भएको थियो ।

कार्यसम्पादन मूल्याङ्कनमा सबै भन्दा बढी अङ्क ल्याएर उत्कृष्ट भएको उक्त गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताए । गत वर्ष प्राप्त गरेको अङ्कमा सुधार गर्दै उक्त गाउँपालिकाले सबै भन्दा बढी अङ्क प्राप्त गरेर पहिलो भएसंगै काम गर्न हौसला मिलेको र अझै सुधार गर्न चुनौती पनि थपिएको उनले बताए त्यसैगरि सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले ६२ दशमलव ९० प्रतिशत अङ्क प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

गत वर्ष सिमकोट गाउँपालिका ७२ प्रतिशत अङ्क ल्याएर पहिलो स्थान भएको थियो । त्यसैगरि चङ्खेली गाउँपालिकाले ६० दशमलव ५५ प्रतिशत अङ्क ल्याएर तेस्रो स्थान हुन सफल भएको छ । त्यसैगरी नाम्खा गाउँपालिकाले ५४ दशमलव ९२ प्रतिशत, ताँजाकोट गाउँपालिका ५२ दशमलव ४७ प्रतिशत, सर्केगार्ड गाउँपालिकाले ४८ दशमलव तीस प्रतिशत र अदानचुली गाउँपालिकाले ४७.६७ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पेश र सभाबाट पारित भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनु पर्ने राजस्व समयमा पठाएको नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, स्थानीय संचित कोषको ब्यवस्था गरे नगरेको, चालु तथा पूँजीगत खर्च प्रतिशत, आवधिक योजना तर्जुमा गरे नगरेको लगाएतका विभिन्न १७ वटा सूचाङ्कको आधारमा मूल्याङ्कन हुने गरेको छ । आयोगद्धारा निर्धारत सुचकहरुको ब्यवस्था कार्यान्यन गर्न असफल भएपछि हुम्लाका गाउँपालिकाका कार्यान्वयन अवस्था खस्कदै गएको देखिन्छ ।