सि.टा.समाचारदाता
सिमकोट । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मध्य निर्वाचित प्रतिनिधिसभा सदस्य जयपति रोकाया सहित पाँच जनाले आफ्नो निर्वाचन खर्चको आयव्यय बिबरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् । निर्वाचन सकिए लगत्तै कार्यालयले सार्वजिनक सुचना निकालेर निर्वाचन खर्चको आयव्यय बिबरण पेश गर्न आग्रह गरेपछि यी उम्मेदवारहरुले आफ्नो खर्च बिबरण पेश गरेका हुन ।
निर्वाचन खर्च कार्यालयमा पेश गर्नेमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार रोकायाले चौध लाख ६२ हजार पाँच सय रुपियाँको आयब्यव बिबरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताए ।
त्यसैगरि निर्वाचन कार्यालयले उपलब्ध गराएको निर्वाचन खर्च बिबरण पेश गर्ने अन्य उम्मेदवारहरुमा नेकपा एमालेमा उम्मेदवार दलबहादुर फडेराले बीस लाख ९१ हजार रुपियाँ रहेको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले छब्बीस लाख बीस हजारको खर्च बिबरण पेश गरिएको छ ।
सैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले एक लाख एघार हजार १११ रुपियाँको खर्च बिबरण पेश गरेका छन् । यता नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुम्भ बुढाले चार लाख रुपियाँको खर्च बिबरण पेश गरेका छन् । निर्वाचन खर्च बिबरण पेश गर्ने उम्मेदवार मध्य राप्रपाका बुढाले बैङ्क खाता नखोलिकनै पेश गरेका छन् भने अन्य चार जना उम्मेदवारहरुले भने बैङ्कबाट कारोवार गरेको खर्च पेश गरेका छन् ।
यता हालसम्म निर्वाचन स्वतन्त्र पार्टीकी उम्मेदवार टासी लाजोम र प्रगतिशिल लोकतान्त्रीक पार्टीका उम्मेदवार जटिल कार्की आफ्नो निर्वाचन खर्च बिबरण पेश नगरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा हुम्ला जिल्लामा सात जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिनु भएको थियो ।
























