युवतीलाई आधुनिक सृङ्गारको तालिम

फोटो क्याप्सन तालिममा सृङ्गार काय गर्दै युवती र सहभागीहरु । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । दुर्गमका महिलाहरुलाई पहिलो पटक सृङ्गारको तालिम प्रदान गरिएको छ । दुर्गमका युवतीहरु पनि आधुनिक सृङ्गार प्रति आर्कषित हुन थालेपछि ब्यवसायीक रुपमा अगाडी बढाउन तालिम प्रदान गरिएको हो । बाहिर जिल्लाबाट गएका बाहेक स्थानीय युवतीहरु केही समय अगाडीसम्म सृङ्गारमा खासै चासो नदिई रहेका बेला पछिल्लो समयमा चासो दिन थालेपछि स्थानीय युवतीलाई पनि यो कला सिकाउने र ब्यवसायी बनाउने उद्धेश्यले सृङ्गार तालिमको आयोजना गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका निमित्त प्रमुख हिरा शर्माले बताईन ।

युवतीहरुमा आधुनिक सृङ्गारमा चासो बढ्दै गएको कारण कार्यालयले तालिम कार्यक्रम आयोजना गरेर तेह्र जना महिलालाई सहभागी गराएको हो । आफ्नो सृङ्गार पनि हुने र ब्यवसाय पनि चलाउन सकिने भएपछि युवतीको माग अनुसार यो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । साठी दिनसम्म सृङ्गार तालिम आयोजना गरेर सहभागी युवतीहरुलाई आधारभूत ज्ञान प्रदान गर्ने कार्य भएको हो ।

सृङ्गारका आधारभूत सीपहरु थ्रेडिङ, हेयरकटिङ, हेयर पुरो स्टाईल, फेससेल, मेकअप, हेयरस्टेट, हेयरकलर लगाएतका सीपहरु अभ्यास समेत गरेर दक्ष बनाउने कार्य भएको तालिमकी सहजकर्ता ऐन्जेला भण्डारीले बताईन । युवतीमा सृङ्गार गर्ने सीप सिक्ने चाहाना धेरै देखिएको बताउदै उहाँले सहभागी अधिकाँसले ब्यवसाय समेत सुरु गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।

युवतीहरुबाट यो तालिमको माग आफै आएबाट पनि आधुनिक सृङ्गार प्रति युवती चाहाना बुझ्न सकिन्छ । सृङ्गार तालिम लिनु भएकी सिमकोट गाउँपालिका– ६ की भैरवी रावतले समय र परिस्थिती अनुसार चल्नका लागि पनि यो तालिम लिएको बताईन ।

नयाँ कला र सृङ्गार आफुलाई पनि आवश्यक पर्ने र यो ब्यवसाय सञ्चालन गरेर अरुलाई पनि मेकअप गर्दै आम्दानी पनि हुने भएको कारण यो काम अहिलेको आवश्यकता पनि भएको हो । तालिम आयोजना गर्ने कार्यालयले सहजकर्ता र तालिम सामाग्रीको ब्यवस्था गरेको हो भने सहभागीका लागि तालिम पुर्ण रुपमा निशुल्क रुपमा सञ्चालन गरिएको हो ।