गर्ववति महिलाकाे नेपाली सेनाकाे हेलिबाट उद्वार

सि.टा समचारदाता
हुम्ला – दुर्गम हिमाली जिल्ला हुम्लामा चिकित्सक अभावकै कारण एक गर्भवती महिलालाई ज्यान बचाउन हतारमै हवाई उद्धार गर्नुपरेको छ। सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढा लामालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आपतकालीन रूपमा उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

शुक्रबार बिहान सिमकोट बजारस्थित घरमै सुत्केरी व्यथा लागेपछि उनलाई तत्काल हुम्ला जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले दिशा (मल) खाइसकेको गम्भीर अवस्था देखिएपछि तुरुन्तै शल्यक्रिया (अपरेशन) गर्नुपर्ने चिकित्सकहरूले निष्कर्ष निकालेका थिए ।

तर विडम्बना, अस्पतालमा शल्यक्रिया गर्न आवश्यक दुई जना चिकित्सक भए पनि दुवै जना जिल्ला बाहिर रहेकाले तत्काल सेवा उपलब्ध हुन सकेन। डाक्टर बिरेन्द्रजंग शाही काठमाडौंमा तालिममा रहेका छन् भने डाक्टर मंगला बुढा सुत्केरी बिदामा रहेको जानकारी दिइएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीका अनुसार आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने अवस्था देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने थियो। तर यहाँ चिकित्सक उपलब्ध नभएकाले तुरुन्तै सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको हो ।

उक्त आपतकालीन उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिएको हो दुर्गम कर्णालीमा स्वास्थ्य पूर्वाधारको अभाव र जनशक्तिको कमीले अझै पनि जटिल अवस्थाका बिरामीहरूलाई यस्तो जोखिमपूर्ण परिस्थितिमा पुर्‍याउने गरेको छ। यस्ता हवाई उद्धारहरू यहाँका नागरिकका लागि जीवन र मृत्युबीचको अन्तिम आशा बन्ने गरेका छन् ।