सि.टा. समाचारदाता
हुम्ला । चालु आर्थिक वर्षमा सदमुकाम रहेको सिमकोट गाउँपालिकाको बार्षिक बजेट आठ करोड भन्दा बढी बृद्धि भएको छ ।
चार वटा कार्यक्रमको बजेट पछि निकासा आएपछि यसअघि गाउँपालिकाले तर्जुमा गरेको बार्षिक वजेटमा बृद्धि भएको हो ।
हिउदे तथा बाह्रौ गाउँसभासम्म आई पुग्दा आठ करोड बाउन्न लाख ५८ हजार बजेट बृद्धि भएको छ ।
यसअघि गत असार १० गते सिमकोट गाउँपालिकाको एघारौ गाउँसभाले ६१ करोड बाह्र लाख ९२४ रुपियाँको बार्षिक वजेट ल्याएको थियो ।
पछि थपिएको बजेट सहित बाह्रौ हिउदे सभाले ७० करोड ९९ लाख ८९ हजार ६३९ दशमलव ५३ रुपियाँको बजेट पारित गरेको थियो । यसरी पछि थपिएको बजेटमा सात करोड नौ लाख ८१ हजार रुपियाँ सामाजिक सुरक्षातर्फ रहेको छ भने तीन लाख ३१ हजार रुपियाँको वजेट गरिब घर पहिचान कार्यक्रमको लागि आएको छ ।
त्यसैगरि राष्ट्रपति शैक्षिक सुधारतर्फ शैपाल हिमाल माविमा दुई कोठे भवन र बालमन्दिर माविका लागि चार कोठे भवन निर्माण गर्न ९७ लाख पचास बहजार बजेट थपिएको छ । त्यसैगरि एकिकृत स्वास्थ्यसुधार पुर्बाधारतर्फ दोजाम आधारभुत सास्थ्थ्य सेवा केन्द्रका लागि ३८ लाख बजेट थपिएको छ ।
त्यसैगरि गाउँसभाले गाउँपालिकाको कार्यालयद्धारा संशोधन गरिएको तीस वटा भौतिक पुर्वाधारका योजनाहरु अनुमोदन गर्दै पारित गरेको छ । एघारौ गाउँसभाले पारित गरेका ती योजनाहरु आवश्यकताका आधारमा संशोधन गर्नु परेको कारण सभाले त्यसलाई अनुमोदन गरेको हो ।
ती योजनाहरुमा भवन, खानेपानी, सिंचाई, सडक र अन्य चालुतर्फका कार्यक्रमहरु पनि रहेका छन् । त्यसैगरि सभाले तीन वटा नयाँ कार्यबिधि पारित गरेको छ भने एउटा संशोधन गरेको छ ।
नयाँ तयार भई पारित भएका कार्यबिधिहरुमा पोषणमैत्री स्थानीय तह वडा घोषण कार्यबिधि २०८२, सिमकोट गाउँपालिका पशुस्वास्थ्य शिबिर संचालन कार्यबिधि २०८२ र लोकसेवा कक्षा सञ्चालन कार्यबिधि २०८२ रहेका छन भने एउटा जनप्रतिनिधि कर्मचारी उपचार कल्याण कोष सञ्चालन कार्यबिधि संशोधन भई पेश भएकोमा त्यो पनि पारित भएको छ ।
यता सिमकोट गाउँपालिकामा लागु भएको लिप्स कार्यक्रमको टेण्डर आव्हान भई घटीघटाउमा बचेको बजेटबाट सात वटा योजना पनि तर्जुमा गर्दै असभाले पारित गरेको छ । यी योजनजाका लागि एक करोड चालीस लाख बजेटको ब्यवस्था गरिएको छ ।






















