हिल्सा नाकाबाट सामान आयात सुचारु

तस्बिर : सि.टा

सि.टा. समाचारदाता
सिमकोट । चीनसंगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्वको अवसरमा बिदा हुने भएको कारण सामान बाहिर निर्यातमा बन्द गरिएको भएपनि बिहीबार पून सुचारु गरिएको हो ।

गत शनिबारदेखि बुधबारसम्म हिल्सा नाकाबाट ताक्लाकोटको सामान आयात बन्द गरिएकोमा बिहीबारबाट सुचारु भएको यारी नाका भन्सार कार्यालयले जनाएको छ । मे दिवसको अवसरमा चाडवाड भएको र सोही अवसरमा बिदा हुने भएको कारण पुर्ण रुपमा हिल्साबाट सामान निर्यातमा बन्देज लगाईएको थियो ।

चीनको ताक्लाकोटबाट मानिसका साथै सामानहरु पनि आउन सुरु भएको र यसबाट भन्सार शुल्क समेत असुल कार्य सुरु भएको छ । सामान आयात कार्य रोकिएपछि भन्सार असुली समेत भएको थिएन । सो अवधिमा मानिसहरुलाई भने आवतजावतमा गर्न दिईएको थियो ।

आउजाउ गर्ने मानिसले भने कुनै सामान ल्याउन दिईएको थिएन । चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा आएको पाँच दिनमा चौध हजार रुपियाँ राजस्व असुली भएको थियो र अव सो बृद्धि हुने भएको छ ।