सि.टा. समाचारदाता
सिमकोट । बिश्व रेडक्रस दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । सदरमुकाम सिमकोटस्थित रानी वन र सिमसार क्षेत्रमा फोहोर बढ्दै गएपनि नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाले दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो ।
बिश्व रेडक्रस दिवस हुम्ला जिल्लामा दुई वटा पर्यटकीय क्षेत्रहरुको सरसफाई गरेर मनाईएको छ । यसमा रानी वन क्षेत्र र सिमसार क्षेत्रको सरसफाई गरिएको थियो ।
आन्तरिक पर्यटकहरु बढी चहल पहल हुने ती क्षेत्रमा नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाले दिवसको अवसर पारी सरसफाई कार्यक्रम आयोजना गरेको सोसाईटी हुम्लाका कोषाध्यक्ष मन्दिर सिंहले बताए ।
सो क्षेत्रमा जंकफुटका खोलहरु र पेय पदार्थ खाली बोतलहरु यत्रतत्र फालिएको र ती फोहोर जम्मा गर्ने कार्य गरिएको थियो ।
जम्मा भएको फोहोर जलाउने र नकुहिने फोहोर खाल्डो खनेर पुर्ने कार्य गरिएको हो । दिवस मनाउने क्रममा सरोकारवाला पक्षको उपस्थिती रहेको थियो ।
























