सि.टा समाचारदाता
सिमकोट । सिमकोटमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तिम समयमा विवादित बनेको छ ।
प्रतियोगितामा खार्पुनाथ गाउँपालिकालाई विजेता घोषणा गरिएपछि सर्केगाड गाउँपालिकाले परिणामप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको हो ।
वैशाख २२ गतेदेखि सुरु भएको प्रतियोगितामा खार्पुनाथले ८ स्वर्ण पदक जित्दै शिल्ड हात पारेको आयोजकले जनाएको छ । सर्केगाडले ७ स्वर्ण पदक प्राप्त गरे पनि कबड्डी र तीन हजार मिटर दौडमा आफूलाई प्रतिस्पर्धाविनै विजेता घोषणा गर्नुपर्ने माग राख्दै विरोध जनाएको थियो ।
सर्केगाड पक्षले ती विधामा अन्य पालिकाको सहभागिता नभएकाले आफूहरूले अंक पाउनुपर्ने दाबी गरेको थियो । तर आयोजक सामाजिक विकास कार्यालय हुम्लाले निर्देशिकामा स्पष्ट व्यवस्था नभएको भन्दै उक्त माग स्वीकार गर्न नसकिने जनाएको छ ।
प्रतियोगिताको नतिजालाई लिएर पुरस्कार वितरण कार्यक्रमसमेत केही समय प्रभावित बनेको थियो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, राजनीतिक दल तथा आयोजकबीच छलफल भएपछि अन्ततः खार्पुनाथलाई विजेता र सर्केगाडलाई उपविजेता घोषणा गर्दै सुरक्षाकर्मीको उपस्थितिमा पुरस्कार वितरण गरिएको हो ।
यस्तै, छात्रातर्फको भलिबलतर्फ उपाधि चंखेली गाँउपालिकाले जित हात पारेकाे छ ।





















