सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रम अन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेशिन ( थ्रेशर ) सहयोग गरेको छ ।
सहज, सरल र कम समयमा गाउँपालिकाले स्थानीय उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै कृषिमा यान्त्रिकीकरणलाई प्राथमिकता दिएको हो ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र रहेका ३१ वटा कृषक समूह तथा सहकारीलाई १७ वटा कम्बाइन राईस मिल, छ वटा मल्टिक्रप थ्रेसर, पाँच वटा कोदो थ्रेसर र तीन वटा फ्लोर मिल हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको रैथाने उपज अब छिटो छरितो रुपमा चुटानी, कुटानी र पिशानी हुने र परम्परागत प्रबिधिको अन्त्य हुने बिस्वास गरिएकोे छ । रैथाने बालीको उत्पादन वृद्धि, संरक्षण र मूल्य अभिवृद्धि गर्ने उद्देश्यले प्रशोधन मेसिन वितरण गरिएको छ ।
गाउँपालिकामा उत्पादन हुने धान, कोदो, फापर, चिनो, कागुनो लगायत रैथाने बाली अब स्थानीय स्तरमै छिटो, सहज र गुणस्तरीय रूपमा चुटानी, कुटानी तथा पिसानी गर्न सकिने छ ।
परम्परागत श्रममुखी प्रविधिको प्रयोग क्रमशः अन्त्य हुँदै आधुनिक कृषि प्रविधिको प्रयोग बढ्ने विश्वास गरिएको छ । वितरण गरिएका मेसिनहरू छिट्टै सञ्चालनमा ल्याइने र यसबाट कृषकहरूको उत्पादन लागत घट्नुका साथै समयको बचत हुनेछ ।
गाउँपालिकाका अनुसार कृषि उत्पादनलाई बजारसँग जोड्ने, प्रशोधनमार्फत उत्पादनको मूल्य अभिवृद्धि गर्ने तथा कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।
मेसिन सञ्चालनमा आएपछि स्थानीय कृषकले बाहिर प्रशोधनका लागि धाउनुपर्ने बाध्यता हट्ने र स्थानीय स्तरमै सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी कृषक तथा सहकारीका प्रतिनिधिहरूले गाउँपालिकाले उपलब्ध गराएको कृषि उपकरणले खेतीपातीलाई थप आधुनिक, सहज र उत्पादनमुखी बनाउन ठूलो सहयोग पुग्ने छ ।
खार्पुनाथ गाउँपालिकाले आगामी दिनमा पनि कृषि आधुनिकीकरण, यान्त्रिकीकरण तथा रैथाने बालीको संरक्षण र बजारीकरणलाई प्राथमिकतामा राख्दै कृषकमैत्री कार्यक्रम सञ्चालन गर्ने बिस्वास सेवाग्राहीको रहेको छ ।























