सि.टा. समचारदाता
सिकाेट । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत पहिलोपटक २५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख जितेका छन्।
शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले साउन महिनाको १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेकाे राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए।
शुक्रबार औपचारिक रूपमा सुरु भएको करदाता प्रोत्साहान कार्यक्रमअन्तर्गत एक जनाले १० लाख रुपैयाँ जितेका छन् भने अन्य १५ जनाले एक-एक लाख रुपैयाँ जितेका छन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमकाबीच साउन महिनाको पहिलो पाक्षिक अवधिका विजेताहरूको घोषणा गरिएको थियो।
आन्तरिक राजश्व विभागकाअनुसार २०८३ साउन १ गतेदेखि १५ गतेसम्मका १६ जना उपहार विजेताहरूको छनोट गरिएको छ। यसमा प्रत्येक दिनका एक–एक जना गरी १५ जना र साउनको पहिलो १५ दिनका लागि एक जना ‘बम्पर’ उपहार विजेता रहेका छन्। दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ।
विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्याण्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्णतः कम्प्युटरकृत प्रणाली भएको र यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेद नहुने भएकाले प्रक्रिया निष्पक्ष रहने आन्तरिक राजस्व विभागका महानिर्देशक भुसालले जानकारी दिए।
साउन १ देखि १५ गतेसम्मको अवधिमा उपभोक्ताहरूले गरेका ७ हजार ७७ वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ। यसमा ३ हजार ९ सय १५ विक्रेता आवद्ध छन्।
त्यसैगरी, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत २ करोड ५६ लाख ८ हजार भन्दा बढी कारोबार भएका छन्। अनलाइन भुक्तानीबाट हुने ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गरिरहनु नपर्ने र ती स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था मिलाइएको छ।
छनोट भएका विजेताहरूको कुपन नम्बर र संक्षिप्त विवरण विभागको वेबसाइटमा प्रकाशन गरिएको छ। विजेता हुनेहरूमा कुपन नम्बर ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० भएका रहेका छन्। उनीहरूले कर कट्टा गरी १ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक गरिएको छैन। उपहार जित्ने उपभोक्ताले १५ दिनभित्र नजिकैको आन्तरिक राजश्व कार्यालयमा गएर पुरस्कार रकम दाबी गर्नसक्ने विभागले जनाएको छ।
वस्तु तथा सेवा खरिद–बिक्रीमा बिल बिजक लिने र दिने संस्कारलाई प्रोत्साहित गरी अर्थतन्त्रलाई औपचारिकीकरण र पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) लाई राजस्वको दिगो स्रोतका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको छ।























