सि.टा. समाचारदाता
सिमकोट । देश गम्भीर पीडा र शोकमा रहेका बेला नेपाली फाइटर रविन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण सफलता हासिल गरेका छन्। ‘रोड टु युएफसी’को सेमिफाइनलमा जित निकाल्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्।
चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गरे। तीन राउन्डसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा निर्णायकहरूले ढाँटको पक्षमा फैसला सुनाएका थिए। तीनै निर्णायकले ढाँटलाई २९–२८ अंक दिएका थिए।
मर्डकविरुद्धको कठिन प्रतिस्पर्धामा जित निकाल्दै फाइनल पुगेका ढाँटले अब ‘रोड टु युएफसी’को उपाधिका लागि जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
यद्यपि, देश गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला प्राप्त यो जितमा ढाँटले खुसीभन्दा पनि देशको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। जितपछि उनले नेपाल अहिले पीडा र शोकमा रहेको भन्दै आफूले सामान्य अवस्थाजस्तो गरी खुसी मनाउने अवस्था नरहेको बताएका छन्।
ढाँटले आफ्नो जित देश र नेपालीहरूप्रति समर्पित गरेका छन्। कठिन परिस्थितिमा रहेका नेपालीहरूसँग आफू पनि साथमा रहेको सन्देश दिँदै उनले आफ्नो सफलतामार्फत देशका लागि केही खुसीको क्षण दिन सकेकोमा भावुकता व्यक्त गरेका छन्।
ढाँटका लागि अब फाइनल खेल निकै महत्त्वपूर्ण हुनेछ। ताजिमाविरुद्धको भिडन्त जित्न सके उनले ‘रोड टु युएफसी’को उपाधिसँगै विश्वकै प्रतिष्ठित मिक्स्ड मार्सल आर्ट्स (एमएमए) संस्था युएफसीमा प्रवेश गर्ने अवसर प्राप्त गर्नेछन्।
त्यसैले ताजिमाविरुद्धको फाइनल भिडन्त ढाँटको व्यक्तिगत करियरसँगै नेपाली एमएमएका लागि समेत ऐतिहासिक खेलका रूपमा हेरिएको छ। देश शोकमा रहेका बेला अन्तर्राष्ट्रिय मञ्चबाट आएको ढाँटको यो सफलता नेपाली खेलकुदका लागि भने महत्त्वपूर्ण उपलब्धि बनेको छ।











