हुम्लाका तीन वटा गाउँपालिकाका सञ्चार सेवा अबरुद्ध

फोटो क्याप्सन समस्या आएको नेपाल टेलिकमको रिले टावर ।

सि.टा. समाचरादाता
सिमकोट । मुगु जिल्लाको सोरु गाउँपालिका–१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन वटा गाउँपालिकामा सञ्चार सेवा अबरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले टावर मर्मत गरेको पाँच दिनपछि फेरि समस्या आउँदा तीन वटा गाउँपालिकाका टेलिकमका सेवाग्राहीहरू मर्कामा परेका हुन ।

नेपाल टेलिकमको टावरमा समस्या आउँदा हुम्लाका चंखेली, सर्केगाड र अदानचुली गाउँपालिकाका सेवाग्राहीलाई सास्ती खेप्नु परि रहेको चंखेली गाउँपालिका– ४ सुरेन्द्रबहादुर शाहीले बताए ।

सञ्चार सम्पर्क गर्ने अन्य माध्यम नभएपछि अन्धकारमा वसे जस्तै महशुस भई रहेको उनले बताए । नेपाल टेलिकमको नेटवर्कमा पटक–पटक समस्या आउँदा सेवाग्रहीको गुनासो बढेको हो ।

टेलिकमलाई समेत सम्पर्क गर्ने माध्यम नभएको कारण समस्या परेको छ । त्यसैगरी सर्केगाड गाउँपालिका–१ जैर बेताल भन्ने स्थानमा राखिएको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सर्केगाड गाउँपालिकाका विभिन्न स्थानका स्थानीयवासीहरू सञ्चारविहीन बनेको वडा नम्बर १ का स्थानीय सुरेश रावतले बताए ।

पटकपटक नेपाल टेलिकमको टावरमा समस्या आएपछि हुम्लाका तीन गाउँपालिका सञ्चार बिहिन बनेको उहाँले बताउनुभयो । एक हप्ता बढी समय भएपनि बिग्रीएको टावर मर्मत हुन सकेको छैन ।

यता अदानचुल् गाउँपालिका– ४ का हिक्तमजंग सिंहले टेलिकमको टावर काम गर्न छोडेको नौ दिन भएको बताए । नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजिआङ लामा मुगुको सोरुकोटमा रिले टावरमा समस्या भएको बताईन । निक्कै अनुरोधपछि प्राविधिक टोली टावर भएको स्थानमा पुगेर मर्मतको काम भई रहेको छ ।