
सि.टा. समाचारदाता
हुम्ला । तीन दिनदेखी सुत्केरी बेथा लागेकी एक जना बीस वर्षकी गर्भवती महिलाको आईतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेत हेलिकोप्टरबाट उद्धार गरिएको छ । बेथा लागेकी ती महिलालाई अस्पतालमा ल्याईएको भएपनि सुत्केरी गराउने जनशक्ति नभएको कारण सुर्खेत रिफर गरिएको कारण हेलिकोप्टबाट उद्धार गरिएको हो ।
सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँकी बीस वर्षकी बसन्ती फडेरालाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो । गर्भवती महिलालाई शुक्रबार बेथा लागेको भएपनि घर धाामी बसाल्ने कार्यमा लागेको कारण अस्पताल पनि ल्याईएको थिएन ।
पछि आफुहरुले थाहा पाएपछि परिवारका सदस्यहरुलाई भनेर शनिबार दिउसो अस्पताल ल्याउने कार्य भएको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । अस्पताल ल्याए पनि सुत्केरी गराउने जनशक्ति नभएको कारण जिल्ला बाहिर रिफर गरिएको र त्यसै अनुसार आईतबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
सुत्केरी हुने अवधि नै नपुगेकी ती गर्भवती महिलाको शरिरमा रगतको मात्रा कम रहेको र एक्कासी निसासिदै बेहोस हुने भएपछि अस्पताल ल्याउने कार्य गरिएको हो ।
गत शुक्रबार मात्र नाम्खा गाउँपालिका– ३ को खगालगाउँकी छ दिनकी सुत्केरी महिलाको पनि हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको थियो । तीन दिनको अवधिमा सुत्केरी र गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।









