हुम्लामा धमाधम पक्की भवनको निर्माण कार्य बढ्दै

फोटो क्याप्सन भरखर निर्माण कार्य सम्पन्न भएर प्रयोगमा आएको सिमकोट बजारको पक्की भवन ।

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम र गाउँपालिका केन्द्रमा धमाधम पक्की ( आसिसि ) भवन निर्माण हुने क्रम बढेसंगै शहरीकरण पनि बढेको छ ।

सदरमुकाम सिमकोट र गाउँपालिका केन्द्रहरु राष्ट्रिय सडक सञ्जालसंग जोडिएसंगै पक्की भवन निर्माणका लागि आवश्यक निर्माण सामाग्री सहज र सस्तो मुल्यमा पाउन थालेपछि स्थानीयहरुद्धारा धमाधम पक्की भवन निर्माण गर्ने कार्य बढेपछि बजार पनि शहरउन्मुख तर्फ लागेको हो ।

एक वर्षयता सदरमुकाम सिमकोटमा पन्द्र वटा पक्की नयाँ भवन निर्माण कार्य सम्पन्न भएर प्रयोगमा आएको सिमकोट बजारमा स्थानीय जनक बुढाले बताए । पहिले ढुङ्गा, माटो र जस्तापाताले छापेका घरहरुलाई भत्काएर नयाँ पक्की भवन निर्माण गरिएका हुन ।

सडक सञ्जाल नजोडिदासम्म सरकारी योजनामा परेका भवनहरु यसरी पक्की बन्ने भएपनि अब सडक जोडिएसंगै ब्यक्तिगत भवन पनि पक्की निर्माण हुन सुरु भएको हो ।

सडक नजोडिासम्म सिमेन्ट र छड हवाई मार्गबाट ढुवानी गर्नु पर्ने भएपछि महङ्गो हुने भएको ब्यक्तिगत घरहरु पक्की निर्माण हुन सकेका थिएनन् । तर भवन निर्माण स्थलसम्मै सडक जोडिएपछि सरकारी मात्र नभएर ब्यक्ति रुपमा पक्की भवन निर्माण गर्ने क्रम पनि बढेको अर्का स्थानीय प्रकाशबहादुर शाहीले बताए ।

अब सदरमुकाम सिमकोटका जस्तापाताले छापेका घरहरु बिस्तारै विस्थाापित हुने छन। अब हरेक वर्ष यस्ता पक्की भवनहरु निर्माण कार्य बढ्दै जाने भनाई उहाँको छ । सडक ढलान भएको र साईट मै ढल पनि निर्माण कार्य भएकोले सदरमुकाम सिमकोट बजार अब शहरीकरणउन्मुख देखिन थालेको छ ।

पक्की भवन निर्माण गर्ने कार्य सदरमुकाम सिमकोटमा मात्र नभएर छ वटा अन्य गाउँपालिकाका केन्द्रमा पनि बढेको छ । यसरी पक्की भवनहरु सबै भन्दा बढी पक्की भवन सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा निर्माण भएको स्थानीय कर्णजंग शाहीले बताए ।

त्यसैगरि खार्पुनाथ गाउँपालिकाको याङचुबजार, चङ्खेली गाउँपालिकाको पिप्लाङ, अदानचुलीको श्रीनगर र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा पनि पक्की भवन निर्माण कार्य बढ्दै गएको छ ।