हुम्लामा मापसे चेकिङ सुरु

सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा ट्राफिक प्रहरीले यातायातका साधनहरुका चालकको मापसे चेकिङ सुरु गरेको छ ।

मापसे सेवन गरेर सवारी साधन चलाउने गरेको गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले सवै किसिमका यातायाचतका साधनहरुमा मापसे चेकिङ सुरु गरिएको हो ।
ट्राफिक प्रहरीलाई सर्वसाधारणबाट मापसे सेवन गरेर सवारीसाधन चलाउने गरेको उजुरी समेत परेको थियो ।

ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाईजर मेशिन प्राप्त भएपछि यातायातका साधनहरुका चालकको मापसे चेकिङ गर्ने कार्य सुरु गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक दिपेश चौहानले बताए ।

मेशिन नहुँदा चालकहरुलाई रोकेर पनि मापसे चेकिङ गर्ने गरिएको भएपनि ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेशिन प्राप्त भएपछि चेकिङ बढाईएको हो ।

यसरी चेकिङ बिहान दिउसो र बेलुका गर्ने गरिएको छ । कच्ची सडक भएपनि चालकहरु मापसे सेवन गरेको चेकिङका क्रममा भेटिएका छन् । मेशिनबाट मापसे चेकिङ सुरु भएयता दुई जना कारवाहीमा परेको बताउदै उनले अब यसले मापसे सेवन गरि सवारी साधन चलाउन हुन्न भन्ने सन्देश गएको बताए ।

मापसे सेवन गरि यातायातका साधनहरु दर्घटना पर्ने क्रम बढ्ने देखिएको वेला मापसे चेकिङ सुरु हुन सकरात्मक कार्य भएको गैरसरकारी संस्थाका अध्यक्ष जनक बुढाले बताए । हाललाई ट्राफिक प्रहरीले सिमकोटमा मात्र मापसे चेकिङ गरेको भएपनि अव यसलाई सर्केगार्ड र कवाडीमा पनि सुरु गर्नु पर्ने सुझाव उनले दिए ।