बढ्दै छ औषधी प्रतिरोधको जोखिम

सि.टा. समाचारदाता
सिमकोट । सामान्य रुघाखोकी, घाँटी दुख्ने र ज्वरो आउनेबित्तिकै चिकित्सकको परामर्शबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले औषधी प्रतिरोधको जोखिम बढाएको छ । आवश्यकताबिना एन्टिबायोटिक प्रयोग गर्ने र औषधीको पूरा मात्रा सेवन नगर्ने बानीले सामान्य सङ्क्रमणको उपचारसमेत भविष्यमा चुनौतीपूर्ण बन्न सक्ने चिकित्सकले बताएका छन् ।

घरमा अदुवा, जिरा र बेसार मिसाएर बनाएको पानीले खोकी निको हुँदैन । त्यसैले खोकी लाग्नासाथ फार्मेसीमा गएर औषधी किनिहाल्छन विरामीले । चिकित्सकको परामर्शबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले नेपालमा औषधी प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) को जोखिम बढाइरहेको छ ।

सामान्य रुघाखोकी तथा भाइरल सङ्क्रमणमा एन्टिबायोटिकले काम नगर्ने भए पनि यसको जथाभाबी प्रयोगले भविष्यमा औषधीको प्रभावकारिता घटाउन सक्ने जोखिम बढाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२२ मा सातै प्रदेशलाई समेटेर गरेको अध्ययनमा ४३.४ प्रतिशत औषधी वितरकले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री गर्ने गरेको पाइएको थियो । त्यस्तै

बहिरङ्ग सेवामा आएका करिब एक तिहाइ बिरामीले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक खरिद गरेको र एक चौथाइले चिकित्सकले तोकेको पूरा मात्रा सेवन नगरेको अध्ययनले देखाएको छ ।

नेपालका आठ जिल्लाका ७९ प्रतिशत उत्तरदाताले चिकित्सकको सिफारिसबिना औषधी पसलबाट एन्टिबायोटिक खरिद गरेको पाइएको थियो । यसले एन्टिबायोटिकको प्रयोगबारे जनचेतना र औषधी बिक्रीको नियमन दुवै कमजोर रहेको देखाएको छ ।

औषधी प्रतिरोधसम्बन्धी विशेषज्ञका अनुसार एन्टिबायोटिकको जथाभाबी प्रयोगले जीवाणुमा औषधी प्रतिरोध गर्ने क्षमता विकास हुने छ ।

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, औषधीको मात्रा आफैँ घटाउने वा सुधार भएको भन्दै बिचमै छाड्ने प्रवृत्ति रोक्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ सेप्टेम्बरमा सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिक औषधीको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएको थियो ।

विभागका महानिर्देशक भरत भट्टराईले विभागले मेरोपेनेम, पोलिमिक्सिन बी, पाइपेरासिलिन प्लस टाजोब्याक्टम, भ्यान्कोमाइसिन, कोलिस्टिन र लाइनजोलिड गरी छ वटा एन्टिबायोटिक औषधी अस्पतालबाहेकका औषधी पसलबाट बिक्री गर्न रोक लगाएको छ । गम्भीर सङ्क्रमणको उपचारमा प्रयोग हुने यी औषधीको अनावश्यक प्रयोग नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको छ ।

विभागले सन् २०२५ मा एन्टिमाइक्रोबियल औषधी खपत निगरानी कार्यविधि जारी गरेको थियो । यसले औषधी उत्पादक तथा आयातकर्ताबाट खपतको विवरण सङ्कलन र विश्लेषण गरी राष्ट्रिय तथ्याङ्क तयार गर्ने व्यवस्था गरेको छ । सरकारले सन् २०२३ मा राष्ट्रिय एन्टिमाइक्रोबियल उपचार निर्देशिका जारी गरी स्वास्थ्यकर्मीलाई सङ्क्रमणको प्रकृति अनुसार सही औषधी, मात्रा र अवधि निर्धारण गर्न मार्गदर्शन गरेको छ ।

त्यस्तै सन् २०२४–२०२८ का लागि राष्ट्रिय एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ । यसले मानिस, पशुपन्छी, कृषि तथा वातावरण क्षेत्रमा औषधीको विवेकपूर्ण प्रयोगलाई प्राथमिकता दिएको छ ।