सि.टा. माचारदाता
सिमकोट । सिमकोट गाउँपालिका— ७ को धारापोरी गाउँका ठाडो ढुङ्गामा गएको सुख्खा पहिरो पन्छाउने कार्य सत्तरी प्रतिशत पुरा भएको छ । उक्त वडाको चौगानफया गाउँका स्थानीयको बिरोधको कारण सडकमा खसेको सुख्खा पहिरो पन्छाउने कार्य यसअघि रोकिएको भएपनि स्थानीयसंगको सहमतिपछि पहिरो धमाधम पन्छाउने कार्य भई रहेको हो ।
पहिरो गएको स्थान धारापोरी गाउँको ठाडो ढुङ्गा भन्दा माथि चौगानफया गाउँ रहेको र सो गाउँका स्थानीयले सडकमा खसेको सुख्खा पहिरो पन्छाउने कार्यमा अवरोध गरेको भएपनि पछि गाउँलेसंगको छलफल गर्दा सहमति हुँदा पहिरो पन्छाउन भएयता हालसम्म सत्तरी प्रतिशत कार्य पुरा भएको निर्माण कम्पनी पक्षले जनाएको छ ।
स्थानीयले सो पहिरो पन्छाउदा गाउँलाई जोखिम हुने भन्दै त्यसको बिरोध गरेका थिए । तर सार्वजनिक काम नरोक्न स्थानीयलाई अनुरोध गरिएपछि काम सुचारु भएको थियो । यसअघि निर्माण कम्पनी दाप्चा जेभीले दुई पटक सडकमा खसेको पहिरो पन्छाउने कार्य सुरु गएको भएपनि माथिबाट पून पहिरो खस्ने क्रम जारी रहँदा रोकिएको थियो ।
निर्माण कम्पनीको फिल्ड प्रतिनिधि नरेन्द्र रावतले हाल सडकमा खसेको सुख्खा पहिरो पन्छाउने कार्य तिब्र रुपमा भई रहेको र अझै केही दिन लाग्ने बताए । उनले अहिले पनि अलिअलि सुख्खा पहिरो खस्ने क्रम जारी रहेको भएपनि काम अगाडी बढी रहेको जानकारी दिए ।
पहिरो सफा गर्न केही दिन लाग्ने छ । सो सुख्खा पहिरो गत कातिक १२ गते खसेको थियो । त्यसयता सिमकोट हिल्सा सडकमा यातायात सेवा बन्द हुँदै आएको छ ।
उक्त सडकको निर्माण कार्य सम्पन्न गर्ने म्याद पुस मसान्तसम्म रहेको छ । स्थानीयले काम गर्न दिएपछि समयमा काम सम्पन्न गर्ने बाटो खुलेको छ ।
























