
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाभर सोह्र वटा झोलुङ्गे पुलहरु निर्माण भएर प्रयोग बिहीन बनेका छन् । ती पुलहरु अपायक पर्ने स्थानमा निर्माण हुनु र केही स्थानमा सडक सञ्जाल जोडिएको कारण निर्माण कार्य भएर राम्रै अवस्थामा रहेको भएपनि प्रयोग बिहीन बनेका हुन ।
जिल्लाका सात मध्य छ वटा गाउँपालिकाका सोह्र वटा झोलुङ्गे पुल हाल प्रयोग बिहीन अबस्थामा रहेका छन् । यसरी राम्रै अवस्थामा रहेका ती झोलुङ्गे पुलहरु प्रयोग बिहीन हुनुमा अपायक पर्ने स्थानमा निर्माण गरिनु र केही स्थानका पुलहरु भने सडक सञ्जाल जोडिएको कारण हाल प्रयोगमा आउन नसकेका हुन । राम्रो अध्ययन हुन नसकेको कारण राज्यको लगानी खेर जाने कार्य भएको छ ।
आफ्नो गाउँपालिकाका झोलुङ्गे पुलहरु प्रयोग बिहीन अवस्थामा रहेको कुरा स्वीकार गर्दै नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले यसो हुनुमा केही अपायक पर्ने स्थानमा निर्माण हुनु र केही सडक सञ्जाल जोडिएको कारण रहेको बताए । उनले गाउँपालिका भित्रका झोलुङ्गे पुलहरु अहिले केही मात्र प्रयोग बिहीन अवस्थामा रहेकोमा आगामी दिनमा धेरै पुलहरु प्रयोग बिहीन हुने देखिएको बताए । यद्यपि केही पुलहरु थोरै भएपनि प्रयोगमा आई रहेको उनको भनाई छ ।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले आफ्नो गाउँपालिकाका प्रयोग बिहीन पुलहरु सार्न खोजेको भएपनि स्थानीय नदिएको कारण पनि समस्या भएको बताई । सिमकोटले यस्ता प्रयोग बिहीन झोलुङ्गे पुललाई आवश्यक पर्ने अन्य स्थानमा सार्न खोजेको थियो । उनले प्राबिधिक रुपमा राम्रो अध्ययन र आवश्यकतालाई ध्यान दिन नसकिएको कारण पनि यी पुलहरु उपयोग बिहीन बन्न पुगेको बताईन ।
यसरी प्रयोग बिहीन अवस्थामा रहेका झोलुङ्गे पुलहरु गाउँपालिका अनुसार नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको लिमी कर्णाली नदी माथि निर्माण भएको झोलुङ्गे पुल प्रयोग मै नआई जिर्ण अवस्थामा रहेको छ । त्यसैगरि सोही गाउँपालिकाको वडा नम्बर ५ को तुम्कोट खोलाका दुई वटा झोलुङ्गे पुलेको अवस्था पनि उस्तै रहेको छ । यता नाम्खा गाउँपालिका कै याल्वाङको चाला जानका लागि कर्णाली नदी माथि निर्माण भएको पुल पनि प्रयोग बिहीन अवस्थामा रहेको छ ।
त्यसैगरि नाम्खा गाउँपालिकाका कै सल्ली खोलामा बनेको झोलुङ्गे पुल पनि प्रयोग बिहीन अवस्थामा रहेको छ । उक्त पुल एक वर्ष अगाडी निर्माण भएको भएपनि प्रयोग बिहीन अवस्थामा रहेको छ । यसैगरि सिमकोट गाउँपालिका– ७ को हेप्का खोलामा दुई स्थानमा निर्माण भएका झोलुङ्गे पुल पनि प्रयोग बिहीन अवस्थामा रहेका छन् ।
यता सिमकोट गाउँपालिका कै हुमाने खोला र रलिङ खोलाको झोलुङ्गे पुल पनि प्रयोगमा आउन सकेको छैन् । अर्को खार्पुनाथ गाउँपालिका– १ को छारेको झोलुङ्गे पुल पनि प्रयोग बिहीन अवस्थामा रहेको छ । भने वडा नम्बर ५ को याङ्चु खोलाको पुल पनि प्रयोगमा आउन सकेको छैन । त्यसैगरि सर्केगार्ड गाउँपालिका– २ को रिपगार्डमा निर्माण गरिएको झोलुङ्गे पुल पनि प्रयोग बिहीन रहेको छ ।
त्यसैगरि चङ्खेली गाउँपालिकाको सलीसल्लाको कर्णाली नदी माथि निर्माण गरिएको पुल प्रयोग बिहीन छ भने दर्वीमा दर्बी नदीमाथि निर्मण भएको झोलुङ्गे पुल प्रयोगमा आएको छैन । त्यसैगरि दर्वी नदी माथि कै मेखाला जाने बाटोको झोलुङ्गे पुल पनि प्रयोग बिहीन रहेको छ । त्यसैगरि ताँजाकोट
गाउँपालिका– ५ को पैमा खोलाको झोलुङ्गे पुल पनि प्रयोगमा आउन सकेको छैन । यी प्रयोग बिहीन झोलुङ्गे पुलहरु दुई वटा बाहेक अन्य सवैको अवस्था राम्रै रहेको छ । यी निर्माणका लागि राज्यले पचास करोड भन्दा बढ बजेट खर्च गर्नु परेका प्राविधिकको भनाई रहेको छ ।














