
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–६ खडीखेत आसपासको सडकमा सुख्खा पहिरो खस्ने र सल्लाका रुख ढल्दा सडक जोखिममा परेको छ । स्काभेटर लगाएर सडक निर्माण गरिदा भिरालो क्षेत्रको माटो गलेको कारण दैनिक सुख्खा पहिरो खस्ने गरेको कारण सडक जोखिममा परेको हो ।
खडीखेतमा होटेल ब्यवसाय गर्दै आउनु भएका राज महताराले पच्चीस मिटर सडकमा दैनिक सुख्खा पहिरो खस्नाले यातायातका साधनलाई समस्या आउने गरेको बताए । माटो बगी रहने भएको कारण उक्त सडकमा यात्रा गर्ने पैदल यात्रुहरु र यातायातका साधनहरु जोखिम हुने देखिए पनि यात्रा गर्न बाध्य रहेका छन । केही दिन अगाडी मात्र सुख्खा पहिरो खसेर मालबहाक ट्रकलााई सामान्य क्षेती पुगेको थियो ।
उनले धन्नै ट्रक सडकबाट पल्टिनबाट जोगिएको बताउदै यसबाट चालक सहचालकको ज्यान जोगएको र ब्यापारको सामाग्री बचेको बताए । सुख्खा पहिरो खस्ने क्षेत्रको सडक भन्दा तीस मिटर तल कर्णाली नदी बग्छ । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सो क्षेत्रमा सुख्खा पहिरो खस्नुका साथै सल्लाका रुख पनि ढल्न सुरु भएको बताए ।
हालसम्म पाँच वटा रुख ढली सकेको र एघर वटा रुखहरु ढल्ने तरखरमा रहेको कारण सडकमा हिड्न र यातायातका साधन सञ्चलन गर्न जोखिम रहेको छ । उक्त सडक आयोजनाले निर्माण कम्पनी मार्फत निर्माण गरेको भएपनि सडकमा खसेको माटो पन्छाउने कार्य बाकी रहेको भएपनि सुख्खा पहिरो खसी रहने भएको कारण काम गर्न पनि समस्या देखिएको होे ।
अर्को कुरा एघार वटा रुख ढल्ने तरखरमा रहेको भएपनि निर्माण कम्पनीले बन ऐनको कारण ढाल्न नसक्ने भएको कारण यसबाट भोली मानबीय क्षेती भए त्यसको जिम्मेवार को हुने भन्ने प्रश्ना तेर्सिएको देखिन्छ । सो खण्डको सडकमा दैनिक सुख्खा पहिरो खस्ने भएको कारण दुई देखि तीन घण्टा सडक अबरुद्ध हुने गरेको छ ।














