सि.टा. समाचारदाता
सिमकोट । स्टिम बाथ चुल्होको प्रयोगले चार गुणाले दाउरा बचत हुने गरेको छ । स्टिम चुल्होबाट थोरै दाउरा एक ठाउमा बाल्ने र त्यसबाट निस्केको बाफले खाना पाक्ने भएपछि पटक पटक दाउराको खर्च नहुँने हुदा दाउरा बचत हुने गरेको छ ।
नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा स्थापना भएको गुम्बाको भान्सामा यही स्टिम वाथ चुल्होको प्रयोग गर्ने गरिएको छ । दाउरा बचत र भान्सामा काम गर्नेको समय बचतका लागि यो प्रबिधिको चुल्हो प्रयोगमा ल्याएको हो । यो चुल्होको प्रयोग नहुने समयमा एक छाक खाना पकाउनका लागि डेढ सय केजी दाउरा खर्च हुने गर्थ्याे ।
यसबाट दैनिक तीन क्वीटलर दाउरा खर्च हुने भएपछि बन बिनास बढी हुने देखिएपछि गुम्बाका मुख्य पुजारी लामाको सुझावबाट यो स्टिम बाथ चुल्हो स्थपना गरिएको उहाँले बताउनुभयो । यो चुल्हो बिशेष गरि एउटा कोठामा टिनको बाक्सामा तल आगो बाल्ने र बाक्साको माथि पानी तताउने भाँडा राखिएको हुन्छ ।
त्यही भाडामा तातेको पानीको बाफ अर्को कोठामा राखिएको खाना पकाउने भाँडामा जडान गरिएको पाईपबाट गएपछि आफै खाना पाक्ने गर्छ । एक्कै पटक पाँच वटा भाडामा खाना पाक्ने गर्छ । जसबाट भात, रोटी, दाल, तरकारी, मःम, थुक्पा छोटो समयमा पाक्ने गर्छ । गुम्बाको विद्यालयका बिधार्थी, शिक्षक र पुजारी गरि एक छाकमा पाँच सय मानिसहरुले यही प्रबिधिबाट तयार भएको खाना खाँदै आउनु भएको छ ।
यही चुल्होको कारण एकातिर दाउराको बचत भएको छ भने अर्कोतर्फ भान्सामा काम गर्ने कामदारको समय पनि बचत हुने गरेको छ । त्यो संगै भाडा फोहोर हुने समस्या पनि हटेको छ । उक्त चुल्होको मुल्य चालीस लाख रुपियाँ गुम्बाले लगानी गरेको थियो । यसैले यही बिधि भान्सामा प्रयोग गर्न स्थानीयलाई गुम्बाले आग्रह समेत गरेको छ ।




















