धामीझाँक्री सहित कामदारको उपचार

फोटो क्याप्सन बिकास निर्माण स्थल मै चेकजाँच गरिदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । पर्यटकीय तथा धार्मिक स्थलमा बिकास निर्माणको काममा खटिनु भएका धामीझाँक्री सहित कामदारहरुको निर्माण स्थलमा उपचार गरिएको छ । एक महिनासम्म लगातर काम गर्दै आउनु भएका कामदारहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी उपकरण र औषधी बोकेर निर्माण स्थलमा पुगेर कामदारको उपचार गर्नु भएको हो ।

हुम्ला जिल्लाकै धार्मिक महत्व बोकेको पर्यटकीय स्थान झाडमाडौमा मन्दिर ( माडु ) निर्माण कार्यमा खटिनु भएका पुजारी, धामी र झाँक्रीको स्वास्थ्य जाँचका साथै उपचार गरिएको ताँजाकोट गाउँपालिकाको सवस्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए । चेकजाँचका उपकरण र औषधी बोकेर स्वास्थ्यकर्मीको टोली छ घण्टा पैदल हिडेर जानु परेको थियो । यो स्थान अदानचुली र ताँजाकोट गाउँपालिकाको सिमानामा पर्छ ।

बिगत एक महिनादेखि लगातार काम गर्दै आएका कामदारहरु निशुल्क स्वास्थ्य परिक्षण गरि औषधी बितरण गरिएको थियो । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सो मन्दिर निर्माण गरिएको हो । शिबिरमा ३२ जना भन्दा बढी कामदारको उपचार गरिएको थियो । सबैको स्वास्थ्य चेकजाँच गर्ने भएपछि धामी झाँक्रीहरुले पनि सहजै स्वास्थ्य जाँच गर्न मानेका थिए ।

आफुले चेकजाँच गरेपछि अरु कामदारहरुलाई पनि स्वास्थ्य जाँच गर्न धामी झाँक्रीले सुझाव दिएका थिए । कामदारको चेकजाँचका साथै स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । यो शिबिरको आयोजना ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको हो ।