सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाबाट चार जनाले पार्टीमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन । रास्वपाले पुस २६ गते राति १२ बजेसम्म अनलाइनमार्फत उम्मेदवारीका लागि खुला आह्वान गरेको थियो ।
सो अवधिमा चार जनाले आवेदन दिएको छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई क्षेत्र रहेका छन्। उम्मेदवारी दिने चारै जना प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क अन्तर्गतका रहेको बुझिएको छ ।
उम्मेदवारी दिनेमा महेन्द्र पाण्डे, लक्ष्मण ऐडी, दत्त बुढा र भरत बहादुर सुनार रहेका छन् । लक्ष्मण ऐडी जिल्लाको चङ्खेली गाउँपालिकाका स्थायी बासिन्दा हुन् भने अन्य तीन जना अदानचुली गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन्।उम्मेदवारमध्ये महेन्द्र पाण्डे रास्वपाका जिल्ला उपसभापति हुन्। यस्तै, लक्ष्मण ऐडी पनि रास्वपाका जिल्ला उपसभापति हुन्।
रास्वपाका अर्का उम्मेदवार दत्त बुढा कुनै समय माओवादी पार्टीमा थिए । त्यस्तै, भरत बहादुर सुनार तत्कालीन हाम्रो पार्टी नेपालका महामन्त्री तथा ‘दलितका लागि दलित अभियान’का महासचिवसमेत हुन्। केही समयअघि हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनार रास्वपाको केन्द्रीय सदस्यका रूपमा सपथग्रहण गरेसँगै उक्त पार्टी रास्वपामा समाहित भएको थियो। सोही अनुसार सुनारले हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन्।


















