
सि.टा. समाचारदाता
सिमकोट । दुई देशको सीमा क्षेत्र हिल्सा नाकाबाट चीनको ताक्लाकोट जानका लागि अनिवार्य रुपमा अनलाईन बिबरण भर्नु पर्ने नियम लागु गरिएको छ । चीन प्रवेश गर्ने हुम्लावासीको बिबरण कम्प्युटरमा प्रबिष्ट गर्न र यो बिबरण सधा राख्नका लागि सीमा क्षेत्र हिल्सामा इन्टरनेट सहज नभएको भएपनि चिनीयाँ सुरक्षा निकायले अनिवार्य रुपमा यो नियम लागु गरेको हो ।
अब चीनको ताक्लाकोट जानका लागि हिल्साको चिनीयाँ कष्टममा अनिवार्य रुपमा अनलाईन बिबरण भर्नु पर्ने नियम लागु गरिएको हिल्साबाट ताक्लाकोट पुगेका विजिरे बोहराले बताए । चिनीयाँ नियम सुरक्षा, घटना र दुई देशको सीमा सुरक्षाका हिसावले उपयुक्त भएपनि सर्वसाधारणहरुका लागि केही समस्या भएको उनले बताए । यसअघि हिल्साबाट ताक्लाकोट जाने हुम्लावासीका लागि सिधै सीमा पास र नेपाली नागरिकता देखाएपछि हुनथ्यो ।
तर पछिल्लो समय चीनले सिमानामा अनिवार्य रुपमा अनलाईन बिबरण भर्नु पर्ने नियम लागु गरेको छ । हिल्सामा नेपाली ईन्टरनेटले काम नगर्ने भएपनि चिनीया पक्षले आफ्ना प्रवेशद्धारमा ईन्टरनेटको ब्यवस्था गरेको छ । सो इन्टरनेटको सो हुम्लाका स्थानीयले अनलाईन बिबरण भर्नु पर्ने हुन्छ ।
यो सुविधा चिनीयाँ सुरक्षा निकायले निशुल्क ब्यवस्था गरेको छ । तर कामका लागि चीनको ताक्लाकोट जाने हुम्लाका स्थानीयलाई अनलाईन बिबरण भर्न नआउने भएको कारण समस्या देखिएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए ।
चिनीयाँ नियमलाई नराम्रो भन्न नमिल्ने बताउदै उनले अनलाईन भर्न नआउने स्थानीयलाई समस्या भएको बताए । यसका लागि ताक्लाकोट जाने हुम्लावासीले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयता लिनु पर्ने बाध्यता रहेको छ । केही सिमित हुम्लावासीले मात्र आफै बिबरण अनलाईन भर्ने भएपनि अधिकाँसले भर्न नसक्ने भएको कारण प्रहरीले यो कार्यमा सहजिकरण गर्दै आएको उहाँले बताउनुभयो ।
चिनीयाँ नियम दुवै देशको सुरक्षाका लागि उपयोगी देखिए पनि छिनछिनमा परिवर्तन हुने भएपछि ताक्लाकोटमा कामका लागि जाने हुम्लावासीले शास्ती खेप्नु पर्ने महशुस गरि रहनु भएको छ । काम गर्न जानु पर्ने बाध्यताको कारण चिनीयाँ पक्षले लागु गरेको नियम अनुसार चल्नु पर्ने बाध्यता हुम्लावासीका लागि छ ।























