खेती योग्य जमिनमा सिचाई सुविधा थपिदै

सि.टा. समाचारदाता

सिमकोट ।       एक वर्षमा हिमाली जिल्ला हुम्लाको वैसट्टी हेक्टर सिंचाई सुविधा नपुगेको खेती योग्य जमिनमा सिंचाई सुविधा थपिएको छ । आर्थिक वर्ष ०८२।०८३ मा कृषि बिकास कार्यालयले नयाँ सिंचाई योजना निर्माण गरेर सञ्चालनमा ल्याएपछि खेती गरि रहेको जमिनमा सिंचाई सुविधा थपिएको हो ।

कृषि बिकास कार्यालयका प्मुख चुडामणी पन्तका अनुसार जिल्लाका सात वटा गाउँपालिकामा १७ मध्य सोह्र वटा नयाँ सिंचाई योजना निर्माण गरेर सञ्चालनमा आउदा सो हेक्टर खेती योग्य जमिनमा खेती लगाईएको र सिचाई सुविधा नभएको जमिनमा सिंचाई पुगेको हो ।

यसमा नाम्खा गाउँपालिकामा दुई वटा, सिमकोट गाउापालिकामा चार वटा, खार्पुनाथ गाउँपालिकामा एक वटा, अदानचुली गाउँपालिकामा दुई वटा, चङ्खेली गाउँपालिकामा तीन वटा र ताँजाकोट गाउँपालिकामा चार वटा सिंचाई योजनाहरु नयाँ निर्माण गरि सञ्चालनमा आएको छ ।

एक वटा सर्केगार्ड गाउँपालिकाको सिंचाई योजना भने अगाडी बढ्न सकेको थिएन । नयाँ निर्माण गरिएका सिंचाईहरुबाट बीस प्रतिशत उत्पादन बृद्धि हुने अनुमान कार्यालयको छ ।

यो सिंचाई सुविधाले धान, चिनो, कोदो, मकै, र फलफुल खेती भई रहेको जग्गाका लागि सहयोग पुगेको छ । यी सिंचाई निर्माण गर्न प्रति सिंचाई योजना पन्द्र लाखका दरले दुई करोड चालीस लाख बजेट लगानी गरिएको छ ।

नयाँ सिंचाई योजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएपछि जिल्लामा कुल सिंचाई भएको खेती योग्य जमिनको क्षेत्र एक हजार २१४ हेक्टर पुगेको छ । अव जिल्लाभर खेती गरिएको जमिन मध्य चौवीस दशमलव अठार प्रतिशत खेती लगाउने जमिनमा सिंचाई सुविधा पुगेको छ ।

जिल्लाभर खेती योग्य जमिन आठ हजार ६१८ हेक्टर रहेकोमा पाँच हजार बीस हेक्टर जमिनमा खेती गरिदै आएको छ । हुम्ला जिल्लामा कुल जमिनको भुभाग पाँच लाख ६५ हजार पाँच सय हेक्टर रहेकोमा त्यसको एक दशमलव ५२ प्रतिशत जमिन खेती योग्य रहेको छ ।