मासिक पाँच हजार खर्च गरेर चिनीयाँ ईन्टरनेट चलाउछन हिल्सावासी

सि.टा. समाचारदाता
सिमकोट ।      नेपाल र चीनको सीमान हिल्साको नेपालपट्टी मासिक पाँच हजारसम्म खर्च गरेर ईन्टरनेट चलाउनु सामान्य जस्तै भएको । नेपाल टेलिकमको ईन्टरनेट सेवा नपुगेको कारण हिल्साका स्थानीय, सुरक्षाकर्मी र कर्मचारी महङ्गो शुल्क तिरेर चिनीया सिमबाट इन्टरनेट चलाउनु परेको हो ।

चिनीयाँ सिमबाट सीमा क्षेत्र हिल्सामा नेपालीहरुले ईन्टरनेट चलाउनु परेको छ । त्यो पनि मासिक चारदेखि पाँच हजार खर्च गर्नु पर्ने बाध्यता रहेको छ । अहिलेको जमानामा ईन्टरनेटमा रमाई रहेका सेवाग्राहीहरुलाई यसको ब्यवस्था हुनु स्वभाविक हो । तर, नेपाल टेलिकमले हालसम्म यसको ब्यवस्था गर्न नसकेको कारण महङ्गो शुल्क तिरेर चिनीयाँ सिमबाट ईन्टरनेट चलाउनु पर्ने बाध्यता रहेको छ ।

ब्यक्तिगत र कार्यालयको कामको लागि पनि ईन्टरनेट चलाउनका लागि चिनीयाँ सिम अनिवार्य चलाउनै पर्ने बाध्यता हिल्सामा रहेको छ । हिल्सामा सुरक्षाकर्मीदेखि कर्मचारी, होटेल ब्यवसायी र हिल्साका स्थानीयले एक सय भन्दा बढी चिनीयाँ सिमको प्रयोग गरि रहेका छन् ।

चिनीयाँ सिम लिनपछि राहदानी आवश्यक पर्ने र राहादानी पेश गरेपछि एक जना ब्यक्ति सिम निकाल्ने र हिल्सामा ल्याएर चलाउने गरिएको छ । अहिले नयाँ सिम लिनका लागि निक्कै झण्झटिलो प्रकृया भएकोले धेरै खर्च गर्न खोजेपछि सिम पाउन कठिन हुने गरेको छ ।

तर कतिपयले पुरानो सिम चलाई रहेको र ती सिम हिउदमा हिल्सा मै राखेर आउने र पछि जाँदा नचलाएको समयको शुल्क ऋणका रुपमा राखिने त्यो तिरे पछि मात्र चलाउन पाईने चिनीयाँ नियमले पनि खर्च धेरै लाग्ने गरेको छ । महंङ्गो शिल्क लाग्ने भएको कारण हिल्सामा ईन्टरनेट सेवा सवैको पहुँचमा भने छैन ।

हिल्साका स्थानीय निक्कै महङ्गो शुल्क तिरेर ईन्टरनेट चलाउनु पर्ने बाध्यतामा रहेका छन । नेपाल टेलिकमले हिल्साका लागि नारा लेकमा स्थापना गरेको टुजीको टावरले मोवाईल नेटवर्क समेत गतिलो किसिमले नचल्ने भएपनि ईन्टरनेटका लागि चिनीयाँ सिम चलाउनुको बिकल्प हिल्सावासीसंग छैन् ।

यो समस्या हालको मात्र नभएर विगत सात आठ वर्षबाट हिल्साका सेवाग्राहीले यो समस्या भोग्दै आएका छन् । सीमा क्षेत्र जस्ता सम्वेदनशील क्षेत्रमा सरकार बिशेष ध्यान दिएर फोरजी सेवा सुचारु गर्नुपर्ने छ ।