सि.टा. समाचारदाता
सिमकोट। आगामी फागनुन २१ गते सम्पन्न हुन गई रहेको प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुले हिमाली जिल्ला हुम्लाका पच्चीस वटा मतदान केन्द्र पुग्न हिड्नु पर्ने भएको छ । जिल्ला राष्ट्रिय सडक सञ्जालसंग जोडिएको भएपनि दुरदराजका मतदान स्थलहरु सडकसंग नजोडिएको कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले हिडेर पुग्नु पर्ने बाध्यता रहेको छ ।
जिल्लाका सात वटै गाउँपालिका गरि पच्चीस वटा मतदान स्थल निर्वाचनका बेला खटिने कर्मचारी र सुरक्षाकर्मीहरुले हिडेर पुग्नु पर्ने अबस्था आगामी फागुन २१ गते सम्पन्न हुन गई रहेको प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनमा रहेको जिल्ला निर्वाचन अधिकृत भिमबहादुर रोकायाले बताए । उक्त निर्वाचनका लागि यस पटक हुम्ला जिल्लामा साठी वटा मतदान स्थल निर्वाचन आयोगले कायम गरेको छ ।
पैदल हिड्नु पर्ने मतदान स्थलमा आधादेखि छ घण्टासम्म हिडेर पुग्नु पर्ने अवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको बिबरण अनुसार यसरी कर्णाली करिडोर र ग्रामीण सडकबाट हिडेर पुग्नु पर्ने मतदान स्थलहरुमा अदानचुली गाउँपालिकाको कुकुर फाल्ना जलविधुत आयोजनाको पावर हाउस र गोठीपाटा सामुदायीक भवन रहेका छन भने ताँजाकोट गाउँपालिकाको बानादेव मासपुर रहेको छ । त्यसैगरि चङ्खेली गाउँपालिकाको रारा आवि मेखाला र डाँफे आवि नेप्का मतदान स्थल रहेको छ ।
यता सर्केगार्ड गाउँपालिकाको सरस्वती मावि जैर, लालिगुराँस मावि लिप्ने, धुम्चुली आवि कल्लास, स्वयम्भु निमावि बराई, ईश्वर आवि छ्यागी, अंशुबर्मा आवि राहदेव, निलकण्ठ प्रावि फुचा मतदान स्थल रहेको छ । त्यस्तै हिड्नु पर्ने सिमकोट गाउँपालिकाको शैपाल हिमाल मावि मतदान स्थल स्याँडा रहेको छ । खार्पुनाथ गाउँपालिकाको मालिका मावि लालि, शंकर आवि थाली, हुम्ला मावि राया, सीता मावि छिप्रा र मान्धारा मावि भकुण्डा मतदान स्थल रहेको छ । त्यसैगरि उत्तरी नाम्खा गाउँपालिकाको नमोडोछुम आवि ताङ्गिन, मोतिराम प्रावि खगालगाउँ र हिमालय प्रावि चाला मतदान स्थल रहेको छ । अर्को नाम्खा गाउँपालिका कै लिमीका तीन वटा मतदान स्थलहरु सुनखानी प्रावि, हल्जी, भृकुटी प्रावि जाङ र हिमशिखर प्रावि तील मतदान स्थल रहेको छ ।
न्यालु लेकमा हिमपातले सडक अवरुद्ध भएपनि अहिले नै लिमी आउजाउ बन्द भई सकेको छ । लिमीका मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुग्न हेलिकोप्टरको आवश्यकता पर्ने देखिएको छ । अन्य ३५ वटा मतदान केन्द्रमा पनि पन्द्र मिनेट हिड्नु पर्ने अबस्था रहेको छ ।


















