सि.टा समाचारदाता
सिमकोट । नाम्खा गाउपालिका–६ को हिमालपारीको गाउँ लिमीको जाङ्ग गाउँँको भृकुटी प्राथमिक विद्यालय मतदानस्थल मतदाता बिनाको रहेको छ । अधिकाँसले गाउँ नै छोडी सकेको र केही घरधुरी भएपनि गत कातिक महिनामा जाडो छल्न काठमाडौं झरेको कारण उक्त गाउँ मतदाता बिहीन भएको हो ।
लिमीका स्थानीय कुन्जो तामाङले जाङ्ग गाउँ मतदाता मात्र नभएर मानिस बिहीन अबस्था रहेको कारण यस पटकको निर्वाचनमा मतदान कार्य हुन कठिन रहेको बताए । सो गाउँका अधिकाँँस स्थानीय काठमाडौंमा झरेको र त्यहाँ बस्दै आएका केही घरधुरीका स्थानीयले पनि कातिक अन्त्यतिर गाउँ छोडेर काठमाडौं झरेको कारण हाल सो गाउँ मतदाता त के मानिस बिहीन अबस्थामा रहेको हो ।
त्यसैले उक्त मतदान केन्द्रमा फागुन २१ गतेको निर्वाचनमा मतदाता पुगेर मतदान कार्यमा भाग लिने संभावना नरहेको उनको भनाई छ । लिमीको भृकुटी प्रावि मतदान केन्द्रमा ११३ महिला र १३४ पुरुष मतदाता गरि २४७ मतदाता रहेका छन् । चैत महिनासम्म हिमपात भई रहने भएको कारण उनले अब फागुनको निर्वाचनमा सो मतदान केन्द्रमा हेलिकोप्टरले मतदाता सारे मात्र निर्वाचनमा मतदाता सहभागी हुने अन्यथा संभव नदेखिएको बताए ।
मतदाता नभएको भृकुटी प्रावि मतदान केन्द्र रहेको छ भने न्यून मतदाता रहेका लिमी कै अर्का दुई मतदानस्थल पनि रहेका छन । लिमी कै हिमशिखर प्रावि मतदान केन्द्र तीलमा ५२ जना महिला र ८० जना पुरुष मतदाता गरि १३२ जना मतदाता रहेकोमा हाल उक्त गाउँमा चालीस जना मतदाता मात्र रहेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
फागुनको निर्वाचनमा पनि सो गाउँमा मतदाताको सहभागिता न्यून रहने देखिन्छ । त्यसैगरि सबै भन्दा बढी मतदाता रहेको लिमी कै हल्जी गाउँमा पनि हाल एक सय जना मात्र मतदाता गाउँमा वस्दै आएको सो गाउँ स्थायी बासिन्दा समेत रहनु भएका वडा अध्यक्ष तामाङले बताए । लिमीको सुनखनी प्रावि हल्जीमा १३२ महिला र १६१ पुरुष मतदाता गरि २९३ मतदाता रहेका छन् । बढी मतदाता बस्ने भनिएको सो गाउँमा साठी भन्दा कम प्रतिशत मतदाता पनि हाल गाउँँमा बस्दै आएका छन् । लिमीका तीनै मतदान केन्द्र गरि ६७२ मतदाता छन् ।
त्यसमा हालसम्मको अवस्था हेर्दा बीस दशमलव अठासी प्रतिशत मतदाताको मात्र निर्वाचनमा सहभागिता रहने स्थानीयको भनाई छ । लिमी जाने नाम्खा गाउँँपालिका–५ को चार हजार ६७० मिटर उचाईको नारा लेक र पाँच हजार मिटर उचाईको न्यालु नाकामा बाक्लो हिमपातको कारण आउजाउ हाल बन्द रहेको छ । यी नाका यसवर्ष मात्र नभएर सधै हिउदमा हिमपातको कारणा बन्द हुने गर्छ ।
हिमपात नाम्खा गाउँँपालिका प्रभावित भएको र त्यसमाथि लिमी झै प्रभावित भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो समस्याका बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने कार्य भई सकेको सो कार्यालयके भनाई छ ।
























