
लोग भण्डारी
हुम्ला । हिमाली जिल्ला हुम्लामा मतपत्र सहित निर्वाचन सामाग्री आई पुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशले हिमाली जिल्लामा हवाई मार्गबाट ढुवानी गरेर मतपत्र सहति अन्य निर्वाचन सामाग्री पठाएको हो ।
नेपाली सेनाको बिमानवाट सुर्खेतबाट मतपत्र सहित अन्य निर्वाचन सामाग्री शनिबार हुम्ला आई पुगेको निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताए । निर्वाचन आयोग कर्णाली प्रदेशले हिमाली जिल्लामा मतपत्र सहित अन्य निर्वाचन सामाग्री हवाई मार्गबाट पठाउन सुरु गरेको उहाँले बताउनुभयो ।
शनिबार सेनाको जहाजले पहिलो उडान हुम्लामा गरेर दश प्रकारका सामाग्री हुम्ला आई पुगेका छन । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने यहाँका कर्मचारीको भत्ता, ढुवानी र हेलिकप्टरको खर्च पठाइ सकिएको छ । आवश्यकतामा आयोगले थप काम गर्दै जानेछ ।
तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्य नजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचन पूर्व र निर्वाचन पश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने जाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरुले अनुरोध गरेका थिए ।
त्यसैगरी निर्वाचनमा खटिएका कर्मचारीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर आयोगले दिनुपर्नेमा जोड दिइएको थियो । प्रतिनिधिसभा निर्वाचनमा हुम्ला जिल्लामा एक निर्वाचन क्षेत्र, ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्र सहित अन्य निर्वाचन सामाग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत निलकण्ठ बराल, प्रमुख जिल्ला अधिकारी रेग्मी, गुल्मपति हरिबावु श्रेष्ठ, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरी नायव उपरिक्षक पुस्कर सिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचार संहिता अनुगमन समिति अतिकृत राजेन्द्र चन्द र अंगबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकाया लगाएतको उपस्थिती रहेको थियो । यी सामाग्री तीन वटै सुरक्षा फौजले कडा सुरक्षा प्रदान गरेर गन्तव्यतर्फ लिएको छ ।























