
सि.टा. समाचारदाता
सिमकोट । सशस्त्र प्रहरी बलले जिल्लाका सात वटै गाउँपालिकामा आफ्नो टुकुटी स्थापना गरेको छ । बिहीबार मात्र उत्तरी नाम्खा गाउँपालिकामा सशस्त्रले आफ्ना टुकुटी स्थापना गर्न सफल भएपछि सवै गाउँपालिकामा सशस्त्र उपस्थिती भएको हो ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मले सशस्त्र प्रहरी बल र निर्वाचन सशस्त्र प्रहरी गरि सात वटै गाउँपालिकामा आफ्नो टुकुटी स्थापना गर्न सफल भएको सशस्त्र प्रहरी नायव उपरिक्षक पुस्कर सिंह ऐरले बताए ।
उनले बिहीबार मात्र नाम्खा गाउँपालिकामा एउट सशस्त्र प्रहरीको टुकुटी स्थापना भएपछि अब जिल्लाका सात वटै गाउँपालिकामा निर्वाचन सुरक्षाका लागि आफ्नो उपस्थिती रहेको बताए । सशस्त्र प्रहरी बलको नेतृत्वमा निर्वाचन सशस्त्र प्रहरी गरि एउटा टुकुटीमा नौ जना कार्यरत रहेका छन् ।
निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले ६३ जना खटाएको छ । निर्वाचन सुरक्षामा खटिएको सशस्त्र प्रहरीले गस्ती समेत सुरु गरेको र सशस्त्र प्रहरीले गस्ती नेपाली सेनासंग सम्युक्त रुपमा पनि गर्न सुरु गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।























