प्रहरीद्धारा पहिलो पटक हुम्लामा नागरिक सुनुवाई कार्यक्रम सञ्चालन

सि.टा समाचारदाता

सिमकोट । जिल्ला प्रहरी कार्यालयले आईतबार नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । प्रहरी र नागरिकबिच सम्वन्ध सुमधुर बनाउन र एक आपसमा सम्वन्ध बिस्तार गर्न प्रहरीले पहिलो पटक नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

अब हरेक तीन महिनामा प्रहरीले नागरिक सुनुवाई कार्यक्रम आयोजना गर्ने गरि यो कार्यक्रम पहिलो पटक आयोजना गरिएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । सहभागीमा अधिकाँस नागरिकहरुको उपस्थिती रहेको सो कार्यक्रममा सुरुमा हालसम्म यसवर्ष प्रहरीले आपराधिक घटनाहरुमा संलग्नलाई नियन्त्रणमा लिन सफल भएको बिबरण पेश प्रनाउ खड्काले गरेका थिए ।

त्यसमा चोरीदेखि बन्दुक जफत, आपसी कुटपिटका घटनामा संलग्न, यातायातका साधनमा हुने बेथितीका वारेका जानकारी गरिएको थियो । त्यसैगरि लागु औषधमा फस्न सकिने संभावना रहेको भिडियो सन्देश पनि देखाईएको थियो । त्यसपछि कार्यक्रममा सहभागीहरुका कुराहरु सुन्ने कार्य भएको थियो । त्यसमा सहभागीहरुले प्रहरी गर्न सक्ने गल्तीहरुका बारेमा सुझाव दिएका थिए ।

प्रहरीका कमीकमजोरी र गल्तीहरु पनि औल्याईएको थियो । त्यसपछि प्रनाउ खड्काले त्यसको जवाफ दिदै प्रहरीले सुधार्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा निमित प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, सशस्त्र प्रहरी नायव उपरिक्षक शंकरसिंह ऐर, राष्ट्रिय अनुसन्धान प्रमुख, मेघराज कँडेल, काँग्रेस उपसभापति बसन्त रोकाया, उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रकाश रावत लगाएत संचारकर्मी र सर्वसाधारणको उपस्थिती रहेको थियो ।