सि.टा. समाचारदाता
हुम्ला । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ मा बजेट विनियोजन भएका १२ सय ४२ योजना कार्यान्वयनमा लगेको छ ।
मन्त्रालयले यो वर्ष १ हजार ३ सय ७६ योजनामध्ये झण्डै ९०.२६ प्रतिशत योजना कार्यान्वयनमा लगेको हो भने १३४ वटा योजना कार्यान्वयनको चरणमा रहेका छन्।
त्यसमध्ये १३९ वटा योजना सम्पन्न भइसकेका छन् भने ५६ वटा योजना विभिन्न कारणले कार्यान्वयन हुन नसकेको मन्त्रालयका सूचना अधिकारी ईन्जिनियर सागर आचार्यले जानकारी दिए।
जिल्लागत विवरण अनुसार सुर्खेतमा सबैभन्दा धेरै १७७ योजना सञ्चालनमा रहेकामा १६८ वटा कार्यान्वयन भइसकेका छन्। यस्तै सल्यानमा ७९ मध्ये ७४, दैलेखमा १८३ मध्ये १७४, कालिकोटमा १५९ मध्ये १५३, जुम्लामा १०४ मध्ये ९७, मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन्।
त्यसैगरी रुकुम पश्चिममा १४३ मध्ये १२०, जाजरकोटमा ११३ मध्ये १०२, डोल्पामा १०६ मध्ये १०१ तथा हुम्लामा २२२ मध्ये २०० योजना कार्यान्वयन भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८२÷८३ मा यस मन्त्रालयका लागि ३ अर्ब ८३ करोड ३ लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म ९४ करोड २४ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । जसमा चालुतर्फ ५३.३ र पुँजीगततर्फ २२.४१ प्रतिशत गरी जम्मा २४.६० प्रतिशत बजेट खर्च भएको छ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले अधिकांश योजना सन्तोषजनक रूपमा कार्यान्वयन भएको उल्लेख गर्दै बाँकी योजनाहरूलाई शीघ्र सम्पन्न गर्न निर्देशन ििदईन । उनले कार्यान्वयनको गति मात्र होइन, गुणस्तरमा समेत विशेष ध्यान दिन आवश्यक रहेको बताईन ।






















