हिमाली शिक्षा र विकास हेड नेपालको सुविधासम्पन्न भवन उद्घाटन

सि.टा समाचारदाता

सिमकाेट ।      हुम्लाको सिमकोटमा हिमाली शिक्षा र विकास हेड नेपालको १५औं वार्षिकोत्सवको अवसरमा नयाँ भवन उद्घाटन गरिएको छ। एक कार्यक्रमबीच रिबन काटेर भवनको उद्घाटन गरिएको हो।

संस्थाका कार्यकारी निर्देशक छिटुप लामाका अनुसार विदेशी संस्था वाङ्गनेस फाउन्डेसन र यूनिका फाउन्डेसनको आर्थिक सहयोगमा करिब ५ करोड ७४ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। विकट भौगोलिक अवस्थाका बाबजुद पनि जिल्लाकै नमुना भवन बनाउन सफल भएको उनले बताए।

उक्त भवन बालमैत्री र अपाङ्गमैत्री बनाइएको छ। निर्माण कार्य सुरु भएदेखि सम्पन्न हुँदासम्मको सम्पूर्ण खर्च विवरण सार्वजनिक सुनुवाइमार्फत प्रस्तुत गरिएको सहायक कोअर्डिनेटर पेमा साङ्मु लामाले जानकारी दिइन्।

लोडसेडिङको समस्या समाधान गर्न भवनमा सौर्य ऊर्जाको व्यवस्था गरिएको छ। यसले कर्मचारी र विद्यार्थीलाई सहज भएको कर्मचारी भक्तराज ऐडीले बताए।

कार्यक्रममा वक्ताहरूले नयाँ भवनले संस्थाको सेवा र विकासका कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। साथै, संस्थाले विगतदेखि विकट हुम्लामा गरिब तथा अपाङ्ग बालबालिकाको शिक्षामा योगदान दिएको भन्दै प्रशंसा गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन लेखा प्रमुख छेमु लामाले गरेकी थिइन्।