
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको चट्टानी भीरको च्याछरा खण्डको सडकमा ढलान कार्य पुरा भएको छ । यसअघि कच्ची सडक हुँदा भिरालो सडकमा निक्कै सास्तीका साथ यातायातका साधनहरुलाई गुड्नु पर्ने बाध्यता हटाउनका लागि सो खण्डको सडकलाई ढलान गरिएको हो ।
सिमकोट हिल्सा सडकको कच्ची, असजिलो र भिरालो सडकका रुपमा परिचित च्याछरा खण्डको सडकलाई ढलान गर्ने कार्य सम्पन्न भएको हिल्सा सिमकोट सडक योजना प्रमुख बेलबहादुर नेपालीले बताए ।
सो खण्डको सडक कच्ची र असजिलो भएको कारण योजनाले सहज रुपमा यातायात सेवा सुचारु गर्न ढलान कार्य गरिएको हो । उक्त सडकलाई सुरक्षित यात्राका लागि ढलान गर्न सर्वसाधारण र चालहहरुले पनि माग गर्दै आएका थिए ।
असजिलो सो खण्डको पाँच सय मिटर सडक ढलान गर्ने कार्य भएपछि यातायातका साधनहरुलाई सहज भएको छ । सो सडक साँढे छ देखि सात मिटर चौडा र बीस सेन्टीमिटर बाक्लो ढलान गरिएको छ । हाल ढलान गरिएको सडक बीस वर्षसम्म टिक्ने गरि निर्माण गरिएको छ ।
कर्णाली करिडोरको हुम्ला खण्डमा च्याछरा सडक पहिलो पटक ढलान गर्ने कार्य सम्पन्न भएर सञ्चालनमा समेत आएको हो । ढलान गरिएको दुरी पार गर्न यसअघि बीस मिनेट समय लाग्ने गथ्र्यो भने ढलानपछि पाँच मिनेटमा यातायातका साधनले समय लगाउने गर्छन ।
यो कार्य भन्दा अगाडी सो खण्डमा यातायातका साधनहरुले यात्रुहरुलाई झारेर खाली गाडी मात्र कुदाउने गर्दै आएकोमा हाल सिधै र सहज रुपमा यातायातका साधनहरु गुडी रहेका छन् ।
यसअघि झर्को लाग्ने उक्त खण्डको सडकमा यात्रा पनि सुरक्षित र सहज समेत भएको छ । च्याछराको भिरालो सडकमा यसअघि पटकपटक यातायातका साधनहरु चढ्न नसकेर ब्याक भएर दुर्घटना समेत हुँदै आएका थिए ।























