सि.टा .समाचारदाता
सिमकोट । चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयातका लागि बन्द गरिएको छ । बैशाख पूर्णिमाको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाडपर्वका कारण बिदा हुने भएकाले सामान बाहिर निर्यात बन्द गरिएको हो ।
शनिबारदेखि बुधबारसम्म हिल्सा नाकाबाट ताक्लाकोटबाट सामान आयात बन्द गरिएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण दाहालले बताए । पूर्णिमाको अवसरमा चाडपर्व परेको र सोही अवसरमा बिदा हुने भएकाले हिल्साबाट सामान निर्यातमा पूर्ण बन्देज लगाइएको हो ।
यद्यपि मानिसहरूको आवतजावतमा भने कुनै रोकटोक गरिएको छैन । आउजाउ गर्ने मानिसले भने कुनै सामान ल्याउन नपाउने व्यवस्था गरिएको छ । अब आगामी बिहीबारबाट पुनः ताक्लाकोटबाट सामान आयात सुरु हुने जनाइएको छ ।
यारी नाका भन्सार कार्यालय सञ्चालन भएको पाँच दिनमै चौध हजार रुपैयाँ राजस्व असुली भएको कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए ।





















