सि.टा. समाचारदाता
सिमकोट । यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात चार महिनाको ऋतुगत मौसम आँकलन गर्दै देशभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम औसतभन्दा बढी हुने जनाएको छ।
विभागका अनुसार दक्षिण एशियाली जलवायु पूर्वानुमान मञ्च (सास्कोफ)ले सन् २०२६ को मनसुन अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको र सोहीअनुसार विभागले औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको छ ।
अगामी मनसुनमा अनुसार कर्णाली, वागमती र कोशी प्रदेशका उत्तरी भूभागबाहेक अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुनेछ। नेपालको उत्तर–पश्चिमी क्षेत्रमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ ।
त्यसैगरि कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ। उनले कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।
न्युनतम तापक्रम देशभर तापक्रमसमेत सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वागमती प्रदेशका उत्तरी भूभाग, मधेस प्रदेशका पूर्वीभूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ।
दक्षिण एसियाली जलवायु पूर्वानुमान मञ्च (सास्कोफ)लाई उद्धृत गर्दै मौसमविदले पछिल्ला वर्षहरूमा दक्षिण एशियामा चरम जलवायु घटनाहरू तीव्र बन्दै गएको उल्लेख गर्दै असामान्य वर्षा, लामो सुख्खा अवधि, भीषण गर्मी र बाढी–पहिरोको जोखिम बढेको जनाएका छन् ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि पश्चिमि न्युन चापिय प्रणाली तथा स्थानीय वायुको प्रभाव कारण केही दिनअघि वा पछि हुने गरेको छ।






















