
सि.टा समाचारदाता
सिमकोट । बिकट हिमाली जिल्ला हुम्लामा लामो समयदेखि गरिब, दुःखी तथा विपन्न वर्गका परिवारलाई विभिन्न प्रकारका मानवीय सहयोग गर्दै आएका गुड नेवर्स इन्टरनेशनल नेपाल र किर्डाक नेपालले फेरि पनि जिल्लाका विपन्न परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेका छन्।
आज जेठ १ गते शुक्रबार दिउँसो करिब २ बजे आयोजित एक औपचारिक कार्यक्रममा जिल्लाका विभिन्न गाउँपालिकाका दलित तथा न्यून आयस्रोत भएका परिवारलाई राहत सामग्री वितरण गरिएको किर्डाक नेपालका कार्यालय प्रमुख जनक बुढाले बताए ।
उहाँका अनुसार गुड नेवर्स इन्टरनेशनल नेपाल र किर्डाक नेपालको आर्थिक सहयोगमा सर्केगाड गाउँपालिका–७ की जुना कार्की, सर्केगाड गाउँपालिका–४ का हेमन्त कुमार शाही, सिमकोट गाउँपालिका–६ का सुत्याराज सुनार, सिमकोट गाउँपालिका–७ का ऐनबहादुर शाही, सागर सुनार र नरेन्द्र सुनार, खार्पुनाथ गाउँपालिका–१ की औँसी शाही, खार्पुनाथ गाउँपालिका–५ का भक्तबहादुर रोकाया, सिमकोट गाउँपालिका–५ का शुसान्त बोहरा, सर्केगाड गाउँपालिका–१ का अजय बुमि तथा सिमकोट गाउँपालिका–२ का लेखराज बोहरासहित ११ जना दलित तथा विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
त्यस्तै, गुड नेवर्स इन्टरनेशनल नेपालकी निर्मला बोहराले आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गर्दै अत्यावश्यक दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको बताए ।
राहत सामग्री अन्तर्गत ११ थान कम्मल, ११ थान तन्ना, ११ थान तकिया, प्रत्येक परिवारलाई ४/४ वटा प्लेट, साना प्लास्टिक जग २/२ वटा, ५ लिटर क्षमताका राइस कुकर ११ थान, ठूला प्लास्टिक जग २/२ वटा, स्टीलका कचौरा ६/६ वटा, डेक्ची १/१ वटा, स्टील कप ६/६ वटा, १० लिटर क्षमताका पानी ग्यालेन १/१ वटा, मसिनो चामल २५/२५ केजी, चिनी ३/३ केजी, सोयाबिन तेल ३/३ लिटर, चियापत्ती ३/३ प्याकेट, नुहाउने साबुन ४/४ वटा, लुगा धुने साबुन ४/४ वटा, ब्रस ४/४ वटा, मन्जन ४/४ वटा लगायतका विभिन्न दैनिक उपभोग्य सामग्री वितरण गरिएको फिल्ड सामाजिक परिचालक तथा खार्पुनाथ गाउँपालिकाकी धनदेवी सिराले बताए ।
उहाँका अनुसार कुल ६७ प्रकारका खाद्यान्न तथा घरायसी सामग्री विपन्न परिवारलाई वितरण गरिएको हो।
यति ठूलो राहत पाएपछि स्थानीय नागरिकहरूले गुड नेवर्स इन्टरनेशनल नेपाल र किर्डाक नेपाल प्रति आभार व्यक्त गरेका छन्। साथै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्।























