सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी

सि.टा समाचारदाता

सिमकोट ।             हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ । जेठ २ गते शनिबार बिहान करिब ९ बजेको समयमा बाच बहादुर रोकायाको घरमा आगलागी भएको स्थानीय निरुता रोकायाले जानकारी दिनुभएको छ ।

राेकायाका अनुसार मानसिक सन्तुलन गुमाएकी बाच बहादुर रोकायाकी अन्दाजी ६० वर्षीया आमा सुनरुपा रोकायाले तीन तले जस्तापाताले छापिएको घरको माथिल्लो तलामा घाँस राखिएको स्थानमा आगो लगाएकाे बताए । आगो लगाएर उनी घटनास्थलबाट फरार भएको स्थानीय निरुता रोकायाले बताउनुभयो ।

घरको माथिल्लो तलाभित्र मौरीका घार, एउटा कोठामा घाँस, पराल तथा नल राखिएको थियो भने अन्य कोठाहरूमा लिउ, फेरुवा, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री राखिएको परिवारले जनाएको छ ।

बिहानको समयमा परिवारका सदस्यहरू खाना खाने क्रममा रहेका बेला एक्कासी आगलागी हुँदा माथिल्लो तलाभित्र रहेका अधिकांश सामग्री जलेर नष्ट भएको र ठूलो क्षति हुन पुगेको घरधनी बाच बहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा सुनरुपा रोकायाको केही वर्षअघि मानसिक सन्तुलन बिग्रिएको थियो । औषधि उपचारपछि लामो समयसम्म अवस्था सामान्य भए पनि पछिल्लो चार–पाँच महिनादेखि पुनः मानसिक अवस्था असामान्य बन्दै गएको र गाउँमा विभिन्न गतिविधि गर्दै आएको उहाँले बताउनुभयो ।

आगलागी भएपछि तत्काल गाउँभरिका स्थानीय नागरिकहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएका थिए । स्थानीयको सक्रिय प्रयासका कारण आगो थप फैलिन नपाएको बताइएको छ ।

जस्तापाताले छापिएको माथिल्लो तला जले पनि तलका दुई तलामा भने ठुलाे क्षति नभएको स्थानीय निरुता रोकायाले जानकारी दिनुभयो ।

हालसम्म आगलागीबाट भएको धनसम्पत्तिको यकिन विवरण आउन नसकेको जनाइएको छ । घटनाबारे तत्काल सर्केगाड प्रहरी चौकीलाई जानकारी गराइएको भए पनि तर तत्कालै प्रहरी टोली घटनास्थलमा पुगिनसकेको स्थानीयले बताएका छन् ।

याे समयमा निकै नै बढि हावा–हुरी चल्ने मौसम भएकाले आगलागीको जोखिम बढ्दै गएको उल्लेख गर्दै सबैलाई सतर्क रहन आग्रह गरिएकाे छ । विशेषगरी घरपरिवार, बालबालिका तथा ज्वलनशील सामग्रीको सुरक्षामा ध्यान दिन सबै स्थानीय बासिन्दाले आफ्नो घर परिवारलाई सतर्कता रहन अनुरोध गरिएकाे छ ।