सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर उत्तर खण्डको सिमकोट हिल्सा सडकमा तीन वटा पक्की पुल र दुई वटा बेलिब्रीजको निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली नदी र यो खण्डमा पर्ने बिभिन्न खोलामा यी पुलहरु निर्माण भएपछि यातायातका साधनहरुलाई सहज भएको हो ।
उक्त खण्डमा निर्माण गरिएका पाँच वटा पुल मध्य दुई वटा पक्की पुल यसै आर्थिक वर्षमा सम्पन्न भएर सञ्चालनमा आएका छन् ।
यसवर्ष निर्माण कार्य सम्पन्न भएका पुलहरुमा सिमकोट र नाम्खा गाउँपालिकाको सिमा मा हेक्पा खोला र नाम्खा गाउँपालिकाका ताक्रु खोला रहेका छन ।
२०७३ सालमा हिल्सामा तत्कालीन जिल्ला बिकास समितिको कार्यालयले कर्णाली नदी माथि बेलिब्रीज निर्माण गरेको थियो । यता छ वर्ष अगाडी नाम्खा गाउँपालिका– ५ को तुम्कोटमा कर्णाली नदी माथि अर्को बेलिब्रीज निर्माण भएको थियो ।
सो बेलिब्रीज भने हिल्सा सिमकोट सडक योजनाले निर्माण गरेको हो । त्यस्तै एक वर्ष अगाडी नाम्खा गाउँपालिकाको सल्ली खोलामा पनि पक्की पुलको निर्माण कार्य भएको थियो ।
त्यसैगरि नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ खोला र बर्खायाममा खहरे पहिरो आई रहने ढाँडकेमीमा गरि दुई वटा कल्भर्टहरुको निर्माण कार्य पनि एक वर्ष अगाडी सम्पन्न भएको थियो । ती पक्की पुल, बेलिब्रजि र कल्भर्टको निर्माण कार्य सम्पन्न हुँदा यातायातका साधनहरुलाई निक्कै सहज भएको हो ।
सिमकोट हिल्सा खण्डको ९५ किलोमिटर सडक खण्डमा नाम्खा गाउँपालिका– ४ को याङ्गार खोलामा पुल निर्माण कार्य सम्पन्न गर्न बाँकी रहेको छ ।
सो पुलको निर्माण कार्य सुस्त गतिमा भने भई रहेको छ । त्यसैगरि सिमकोटबाट ईलिङ काँध र तुम्कोटबाट हिल्सासम्मको सडक चौढा गर्ने कार्य समेत पुरा भई सकेको छ । अव ईलिङ काँधदेखि तुम्कोटसम्मको सडक चौढा गर्न बाँकी रहेको त्यसका लागि अर्को आर्थिक वर्ष टेण्डर खोल्ने कार्य हुने योजनाले जनाएको छ ।




















