सि.टा. समाचरादाता
सिमकोट । निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार वर्षायाममा दूषित पानी तथा खानाका कारण झाडापखाला र हैजाको जोखिम बढ्ने भएकाले सुरक्षित खानेपानी र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने जनाएको छ।
मन्त्रालयले पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन, साबुनपानीले नियमित हात धुन, बासी तथा सडेगलेका खाद्य पदार्थ नखान, खाना छोपेर राख्न तथा काँचो फलफूल र तरकारी राम्रोसँग सफा गरेर मात्र सेवन गर्न आग्रह गरेको छ। साथै खुला दिसापिसाब नगर्न र शौचालयको अनिवार्य प्रयोग गर्न पनि अनुरोध गरिएको छ।
त्यसैगरी, एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगबाट बच्न घर तथा कार्यस्थल वरपर पानी जम्न नदिन, झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली प्रयोग गर्न, सुत्दा झुलको प्रयोग गर्न तथा शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले सुझाव दिएको छ।
मन्त्रालयले खानेपानी तथा खाद्यान्न वितरणसँग सम्बन्धित सबै सरोकारवाला निकाय तथा व्यवसायीलाई पनि खाद्य तथा पानीको स्वच्छता कायम राख्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।























